भोलिदेखि एसईई परीक्षा, यसरी गर्नुस् परीक्षाको तयारी
भोलिदेखि नेपालभरका ४ लाख ७५ हजार विद्यार्थीले एसईई दिँदैछन्। परीक्षा भन्ने बितिकै अधिकाँश विद्यार्थीको मनमा एक प्रकारको डर हुन्छ । चाहे त्यो जुनसुकै परीक्षा किन नहोस् । नपढेर भन्दा पनि परीक्षाको समयमा आत्तिने बानीले पनि विद्यार्थीले चाहेको नतिजा नआउन सक्छ ।
त्यसैले परीक्षाको समयमा नआत्तिई परीक्षा दिन विद्यार्थीहरुलाई सुझाब दिएका छन् । एसएलसी लाई फलामे ढोका भनेर पहिलेबाट नै भनिए पनि तर पहिलेजस्तो एसईईलाई हाउगुजी ठान्ने प्रवृत्ति विद्यार्थीहरुमा विस्तारै हराउन थालेको छ । तर पनि विद्यार्थीमा परीक्षाको त्रास भने रहन्छ रहेको हुन्छ ।
परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरू कसरी नतिजा राम्रो बनाउने भन्ने सन्दर्भमा अन्योलमा हुन्छन । एसईईमा कडाई हुने भन्ने मानसिकताले विद्यार्थीमा एक प्रकारको त्रास उत्पन्न भैसकेको छ । तर छोटो समयमा पनि सामान्य अध्ययन विधी अपनाउँदा प्रशस्त फाइदा लिन सकिने शिक्षाविद टेक बहादुर थापा बताउँछन् । उनी भन्छन् , विद्यार्थीहरुले अहिलेसम्म आफ्नो तयारी सकिसकेको हुनुपर्ने र अबको समय ‘रिभ्यु’ मात्रै गर्ने हो ।
अभिभावकको जिम्मेवारी के ?
परीक्षा विद्यार्थीलाई जत्ति महत्व छ अभिभावकलाई पनि उत्तिकै हुन्छ । परीक्षाको समय निकै कठीन हुन्छ । यतिबेला विद्यार्थीहरू मानसिक रूपले थकित हुन्छन् । पारिवारिक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोराछोरीमा असर पर्छ । त्यसैले छोराछोरीको भविष्य सम्झेर अध्ययनको राम्रो वातावरण सृजना गरिदिनुपर्ने शिक्षकहरु बताउँछन् ।
काठमाडौं बनस्थलीका सम्पन्न सिंखडा एसईईको तयारी गरिरहेका छन् । उनकी आमा सानु सिंखडा पनि छोरालाई उचित पढ्ने वातावरण दिएको बताउँछिन् । उनी भन्छिन्, ‘छोराको पढाई र भविष्यप्रति संधै प्रेरणादायी भूमिका खेलेको छु ।
अभिभावकको प्रेरणाले सन्तानको सफलता निश्चत हुन्छ, त्यसैले उसलाई साथीको व्यवहार गदै सकारात्मक वातावरण दिने प्रयास गरेकी छु । ता की अध्ययनका क्रममा उनीहरूमा हिनताबोध सिर्जना नहोस् ।’
छोराछोरीलाई उचित पढ्ने वातावरण दिने, कुनै किसिमको तनाव र दबाद नदिने, स्वस्थ्यकर खानेकुरा दिने गर्नुपर्दछ । साथै छोराछोरीलाई परीक्षाको समयमा अन्य विद्यार्थीसँग तुलना गर्न नहुने पनि शिक्षाविद थापाको भनाई छ ।
विद्यार्थीमा आत्मविश्वास
विद्यार्थीहरुमा परीक्षाको समयमा सबैभन्दा बढी महत्त्वपूर्ण कुरा आत्मविश्वास हो । नेपाल शिक्षक महासंघका केन्द्रिय सहअध्यक्ष नारायणी माध्यामिक विद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद दवाडी भन्छन्, जस्तोसुकै कठीन प्रश्न सोधिए पनि, अप्ठ्यारो अवस्था आए पनि त्यसलाई समाधान गर्छु भन्ने आत्मविश्वास परीक्षार्थीमा हुनुपर्छ ।
कतिपय विद्यार्थीमा आफूलाई आएको उत्तर पनि लेख्न नसक्ने र अरूको उत्तरपुस्तिका हेर्ने बानी हुन्छ, त्यसले थप अन्यौल सिर्जना गर्छ । यस्तो बानी त्याग्नुपर्छ । परीक्षाहलमा पुगेपछि कुनै विद्यार्थी आफूले जानेको कुरा पनि बिर्सने, डरले काम्ने, प्रवृत्ति हुन्छ । यस्तो समस्या आत्मविश्वासको कमीले हुन्छ ।’
चिन्ता नलिने
जब परीक्षा आउँछ, विद्यार्थीलाई चिन्ताले सताउन थाल्छ । राम्रा विद्यार्थी कम नम्बर आउने हो कि भनेर चिन्ता गर्छन् भने मध्यम खालका विद्यार्थी उत्तीर्ण हुन नसकिएला कि भन्ने चिन्तामा हुन्छन् । आफूलाई कमजोर मान्ने विद्यार्थी आफूलाई परीक्षामा सामेल गराउनुपुर्व नै चिन्तित देखिन्छन् । तर परीक्षाको समयमा चिन्त लिँदा जानेको कुरा पनि लेख्न नसकिने हुँदा आफ्नो दिमागलाई स्वतन्त्र बनाउनुपर्ने शिक्षकहरु बताउँछन् ।
एसईई दिने विद्यार्थीमा मनोवैज्ञानिक त्रास बढी हुने भएकाले यो हटाउन जरुरी रहेको शिक्षाविदहरुको भनाई छ । अन्य परीक्षा जस्तै एसईईलाई पनि सामान्य परीक्षाको रुपमा लिन शिक्षाविद्यहरुले सुझाब दिएका छन् । शिक्षाविद्यहरुले एसईईको तयारीमा रहेका विद्यार्थीहरुलाई शिक्षाविदहरुले यस्तो सुझाव दिएका छन् ।
– परीक्षाको समयमा रातभरी नपढ्ने ।
– एसईईलाई पनि सामान्य परीक्षाजस्तै सम्झिएर मनमा डर नलिने र मैले पहिले पनि परीक्षा दिएको हो, त्यो र यो परीक्षामा केही फरक छैन भन्ने सम्झने ।
– परीक्षा सुरु हुनुभन्दा आधा घण्टा पहिला परीक्षाहलमा पुगेर त्यहाँको वातावरण बुझ्ने ।
– परीक्षाको लागि चाहिने प्रवेशपत्र, कलम जस्ता आवश्यक सामान साथमा राख्ने ।
– परीक्षाहलमासँगै रहेका अरु विद्यार्थी र शिक्षकलाई आफ्नै स्कूलका सहपाठी र शिक्षक हुन् भनेर सम्झनुपर्ने ।
– उत्तरपुस्तिका हातमा परेपछि आवश्यक विवरण स्पष्ट र बुझिने गरी लेख्नुपर्ने ।
– प्रश्नपत्र आएपछि हतारिएर लेख्न नथाल्ने ।
– आफूलाई सजिलो र छिटो आउने प्रश्न पहिले लेखी एउटा प्रश्नको लागि धेरै बेर अलमल नगर्ने ।
– सबै प्रश्नपत्रको उत्तर लेखिसकेपछि दोहोर्यार हेरी सिम्बोल नम्बर चेक गर्ने ।
– एउटा विषयको परीक्षा सकिएपछि केही गलत लेखिएको थाहा भएमा त्यसैको चिन्ता नगर्ने । जसले गर्दा अर्को दिनको परीक्षालाई असर पु¥याउन सक्छ ।
समग्रमा एसईईलाई हाउगुजीको रुपमा लिने र बढी चिन्ता लिन नहुने विज्ञहरुको सुझाब छ । परीक्षाको समयमा मनको त्रासलाई पूर्ण रुपमा हटाएर र ढुक्कका साथ परीक्षा दिनुपर्दछ । मैले जे पढेको छु, पर्याप्त रुपमा पढेको छु् । परीक्षामा के आउने हो ? कस्तो आउने हो ? मैले लेख्न नै सक्दिन कि ! भनेर अनावश्यक चिन्ता लिनु नहुने शिक्षाविदहरुको सुझाब छ । साथै परीक्षाहलमा प्रवेशको समयमा होस् या परीक्षा दिइरहेको समयमा होस् शिक्षक तथा निरीक्षकहरुले विद्यार्थीहरुलाई डर नदेखाई परीक्षाको लागि सहज वातावरणको सिर्जना गरिदिनु पर्दछ ।
शिलापत्रबाट






