Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

नगरप्रमुखमा उमेद्वारी घोषणा गर्दै गेहेन्द्रले भने ः जीवनमा असम्भव केही लाग्दैन

वीरेन्द्रनगरलाई दुहली जस्तै बनाउने सपना छ,
मेयरमा निर्वाचित भएपछि एक पैसा पनि पारिश्रमिक लिने छैन : दाहाल

सुर्खेत १४ चैत्र २०७३

कपिल आचार्य
स्थानीय तहको निर्वाचनको घोषणा भएसँगै विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु बिच निर्वाचनको विषयलाई लिएर बहस शुरु भएका थिए । निर्वाचन आउँन अब करिब ४८ दिन मात्र बाँकी छन् । विभिन्न राजनीतिक दलहरु वडादेखि नगरपालिकासम्म कसलाई उमेद्वार बनाउने भनेर अन्तरक्रियामा जुटिरहेका बेला प्रदेश नं. ६ को राजधानीको रुपमा प्रस्तावित भएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदको लागि भने औपचारिक रुपमा गेहेन्द्र प्रसाद दाहालले आफ्नो उमेद्वारीको घोषणा गर्नुभएको छ ।

नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएसँगै नेपाली काँग्रेसको विचार र सिद्धान्तबाट प्रभावित हुनुभएको गेहेन्द्र प्रसाद दाहालले यद्यपी नेपाली काँग्रेसको तर्फबाट नभई स्वतन्त्र नागरिकको हैसियतले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो ।

रफत सञ्चार क्लब सुर्खेतको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा उहाँले उमेद्वारी घोषणा गर्ने क्रममा भन्नुभयो – म विपीवादमा विश्वास गर्ने मान्छे तर पछिल्लो चरणमा नेपाली काँग्रेसले विपीले स्थापना गरेको सिद्धान्तको आधारमा भन्दा पनि व्यक्ति हावी भएर विभिन्न झुण्डमा बाँडिएर पार्टी संचालन गर्ने र जनता र समाजको लागि भन्दा पनि नेताको हक, हितका लागि कार्यहरु हुने गरेकाले मैले आजकै मितिबाट नेपाली काँग्रेस समेत परित्याग गरेको छु । जुन पार्टी सिद्धान्त र विधिसम्मत चल्दैन त्यस्तो पार्टीमा बसिरहनुको औचित्य छैन उहाँको भनाई थियो । त्यसैले सबैको अपनत्व हुने र सबैलाई स्वीकार्य हुने स्वतन्त्र नागरिकको तर्फबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुखको रुपमा मैले आफ्नो उमेद्वारी घोषणा गर्दछु ।

बर्ष सन् २००५ को जेसिसको राष्ट्रिय अध्यक्ष समेत भइसक्नु भएका गेहेन्द्र प्रसाद दाहाल सुर्खेतको शिक्षा क्षेत्रमा छुट्टै पहिचान बोकेका शिक्षाप्रेमी मात्र सफल नेतृत्व गर्नसक्ने कुशल व्यक्तित्वको रुपमा समेत परिचित हुनुहुन्छ ।

पद लोलुपतामा रुमलिने काँग्रेसीहरु प्रजातान्त्रिक अभ्यास र साँचो समाजवाद भन्दा पनि पृथक गतिविधिमा लागेको दाहालले बताउनु भयो । व्यक्तिगत चरित्र हावी बनाएर पार्टी चलाउन खोजेकोले पनि आफूले काँग्रेसबाट प्रतिनिधित्व नगर्ने बताउनु भयो ।

आफूले आफ्नो जीवनमा गरेका कार्यहरुको स्मरण गर्दै दाहालले भन्नुभयो – मैले पहिलो सास फेरेको माटो यही हो र अन्तिम सास फेर्ने माटो पनि यही हो । त्यसैले अझैँ १४ वर्ष जागिर अवधि हुँदाहुँदै पनि वीरेन्द्रनगर नगरपालिकालाई साँच्चिकै नगर जस्तो बनाउनका लागि म तयार छु । २१ औंँ शताब्दीमा समाज कसरी अगाडि बढ्न सक्छ भन्ने बारेमा चिन्तन र मनन् गर्ने बेला आएको छ । अब दलको ठेकेदारको रुपमा रहने व्यक्तिले समाजको लागि केही गर्न नसक्ने भएकोले दलको ठेकेदारलाई होइन समाज निर्माणको लागि सुर्खेती जनताले आफूलाई मतदान गर्ने कुरामा म विस्वस्त छु ।

जनसेवा माध्यमिक विद्यालयमा काम गर्ने क्रममा मैले आफ्नो भन्दापनि विद्यार्थी र अभिभावकको जित चाहेकोले घुस्रा विद्यालय देशकै नमुना विद्यालय बन्न पुगेको स्मरण गर्दै उहाँले भन्नुभयो –श्रीकृष्ण संस्कृत तथा साधारण विद्यालय कुन अवस्थाबाट आजको अवस्थामासम्म आइपुग्यो भन्ने कुराले मेरो नेतृत्वशैलीको व्याख्या गर्दछ । उहाँले थप्नुभयो – आज विभिन्न दलहरुको कारण नगर र नगरबासीहरुले हारिरहेका छन् । मैले जेसिसको नेतृत्व गरेको बेलामा जसरी नेपाल जेसिसमा उत्कृष्ट देशको रुपमा पुरस्कृत भएको थियो अब वीरेन्द्रनगरलाई उत्कृष्ट नगर बनाउनका लागि मैले जीवनभर हात पारेका उपलब्धीहरुलाई एकातिर राखेर र वीरेन्द्रनगर नगरपालिका र यहाँका सचेत सबै नागरिकहरुका साझा समस्यालाई एकातिर राखेर म नगरपालिकाको मेयरको लागि खडा भएको छु । मेयर भनेको संस्था संचालक हो । त्यो संचालकले आफू मरेर भएपनि नगर र नगरवासीहरुलाई बचाउनु पर्छ भन्दै उहाँले क्याप्टेन स्व. दिनेश न्यौपानेले आफू मरेर पनि यात्रुहरुलाई बचाउने काम गरेर इतिहासका पानाहरुमा सुनौला अक्षरले आफनो नाम लेखाउने महान कार्यको स्मरण गर्दै अगाडि भन्नुभयो – राजनीतिक दलहरु आफू काम गर्दैनन् र दोष जनतालाई थुपार्छन् । अब त्यसको अन्त्यका लागि हो मेरो उमेद्वारी ।

स्वतन्त्र रुपमा निर्वाचनमा होमिने तपाइँ मात्र हुनुहुन्छ के आधार छन् निर्वाचन जित्ने भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले भन्नुभयो – २७ वर्षको शिक्षण पेशामा रहँदा जुन संस्थाको प्रमुख भए त्यही संस्थालाई जिताएँ । त्यसको लागि त्यहाँकै समाज र समदायले सहयोग ग¥यो भने अब मेरो जिम्मेवारी नगर र नगरवासीलाई जिताउने भएकोले सम्पूर्ण नगरवासीहरुले मलाई साथ दिनुहुन्छ म निर्वाचन जित्छु । साथै उहाँले भन्नुभयो – पद लोलुपता नभएका साँच्चिकै नगर र नगरवासीहरुको भलो चाहनेहरुको समूह नै स्वतन्त्र उमेद्वारहरुको समूह हो । त्यसैले यसमा यो र त्यो भन्ने छैन ।

जुन दलले निर्वाचन जित्यो त्यो दल बाहेक अरुलाई निधेष गर्ने प्रबृत्तिको अन्त्य गरी समाज सबैको जित सुरक्षित गर्नका लागि, अहिलेको कुरुप नगरपालिकालाई सुन्दर दुलही झैँ नगर बनाउनका लागि आफूले उमेद्वारीको घोषणा गरेको दाहालले बताउनु भयो । काँग्रेसले सिद्धान्त र निष्ठाको राजनीति गर्न नसकेका कारण प्रधानमन्त्रीको पद समेत अरुका लागि छोडिएका गणेशमान र सन्तनेता कृष्ण प्रसाद भट्टराई जस्ता यस देशका महान व्यक्तिहरुले काँग्रेस छोड्नु परेको उल्लेख गर्दै भन्नुभयो – यदि म नगरपालिका प्रमुखमा निर्वाचित भए भने जनताले तिरेको करबाट एक पैसा पनि पारिश्रमिक लिने छैन ।

कार्यक्रम रफत सञ्चार क्लब सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण सचिव सविता जि.सी.ले गर्नुभएको थियो ।