Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कोरियाको अनुभवले सुर्खेतमा सुपरमार्केट

सुर्खेत ।
देश संघीयतामा गइसकेपछि सबै भन्दा पछि सिमाङ्कन भएको कर्णाली प्रदेश र त्यसको राजधानीको रुपमा रहेको वीरेन्द्रनगरमा पछिल्लो समय विभिन्न प्रकारका व्यावसायहरु स्थापना हुँदै गइरहेका छन् । ती मध्ये स्तरीय सेवा र मूल्यमा एकरुपता ल्याउने उद्देश्यका साथ संचालनमा आएको ‘सुर्खेत सुपरमार्केट’ का संचालन दान बहादुर जि.सी.ले सुर्खेत कर्णालीकै व्यावसायिक थलो बन्ने बताएका छन् ।


वीरेन्द्रनगरको मुख्य क्षेत्रको रुपमा रहेको प्रगतिनगर टोलमा १२ कट्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर सुपरमार्केट निर्माण गरिरहेका जि.सी. ले भने, ‘व्यापारिक प्रयोजनका लागि गरिने कार्य सबै नाफाका लागि हुन्छन् । तर हामीले निर्माण गरेको मार्केटमा कोठा भाडा मुख्य बजार क्षेत्रको भन्दा निकै कम भएकोले उपभोक्ताको हक हितलाई मध्यनजर गर्दै सामान सस्तोमा बेच्न सकिने भएकोले पनि अन्य मार्केट भन्दा सुर्खेत सुपरमार्केट फरक छ ।’ थोक, फुटकर दुबै सेवा सुविधा रहेको उक्त मार्केटमा मासु तथा तरकारी जन्य वस्तु बाहेक अरु सबै बस्तुहरुको बिक्री वितरण गरिने छ । १ सय वटा सटरहरु रहने उक्त मार्केटमा अहिले ६० सटरहरुमा पसल संचालन भइसकेका छन् ।

१० वर्ष कोरियामा काम गरेको अनुभव र काठमाडौंमा ३ वटा सुपरमार्केट संचालन गरेको अनुभवलाई संगालेर सुर्खेतमा पनि यस्तो मार्केटको खाँचो महसुस गरि सुरु गरिएको संचालक जि.सी.ले बताए । उनले भने, ‘सुर्खेत सुपरमार्केट भित्र पाउने हरेक सामानको मूल्य हरेक पसलमा एउटै हुनेछ । जसका लागि राज्यले बनाएको व्यापारिक नीतिलाई अनुशरण गरेर आफ्नै एउटा समितिकाो निर्माण गरि मूल्यमा एकरुपता ल्याउने तयारी भइरहेको छ ।’ मुख्य बजारमा ८० हजारसम्मका सटरहरु रहेका छन् भने सुर्खेत सुपरमार्केटमा ५ देखि १० हजार मासिक भाडाका सटरहरु रहेकोले पनि त्यहाँको सामान सस्तो पर्ने विश्वास लिइएको छ ।

प्रसस्त पार्किङ्गको व्यवस्थापन भएको उक्त मार्केटमा फेन्सी, रेष्टुरेण्टदेखि डिपार्टमेण्ट स्टोरसम्म रहने भएकोले पनि ग्राहकले खोजेका सबै सामानहरु एकै स्थानबाट उपलब्ध गराउन सकिने जि.सी.ले बताए । उनले थपे, ‘ हिल्सा नाका खुलेपछि कर्णाली प्रदेशका अन्य जिल्लाहरुका लागि आवश्यक पर्ने सामानहरुमा समेत सस्तो पर्नेछ ।’ दशैं तिहार स्किम ल्याउने तयारी गरिरहेको सुर्खेत सुपर मार्केटले वीरेन्द्रनगर नगरपालिकाबाट स्वीकृति लिइ मापदण्ड बमोजिम संचालन गरेको छ । संचालक जि.सी. का अनुसार मार्केटमा सिसिटिभी क्यामेरादेखि सुरक्षाको समेत व्यवस्थापन हुन्छ भने सरसफाइलाई पनि त्यत्तिकै ध्यान दिइने छ । साथै वातावरणलाई ध्यानमा राखी मार्केट भित्रै एउटा पार्कको समेत व्यवस्थापन गर्ने र हरियाली प्रबद्र्धनका लागि गमलामा विरुवाहरु समेत रोपिनेछ ।