स्याउको राजधानी घोषणा गर्ने तयारी : महामन्त्री
सुर्खेत २९ चैत्र
क्वीकखबर सम्वाददाता ।

नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले छ नं. प्रदेशलाई स्याउको राजधानी घोषणा गर्ने तयारीमा रहेको बताउनु भएको छ । रफत सञ्चार क्लब सुर्खेतले आयोजना गरेको साक्षात्कार कार्यक्रममा महामन्त्री शाहीले यस्तो कुरा बताउनु भएको हो ।
स्थानीय तहको निर्वाचन नजिकै आइरहेको बेला राजनीतिक दलहरुले निर्वाचन हार्ने डरले यो वा त्यो बहानामा निर्वाचनलाई टार्ने चलखेल गरेपनि निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ ।
साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो – तरुण दललाई अझैँ पनि लड्ने, भिड्ने रुपमा कसैले हेरेको भए त्यो गलत छ । अब तरुण दल बौद्धिक कार्य गर्दै अगाडि बढ्ने अभियानमा जुटिसकेको छ । युवालाई आर्थिक रुपान्तरण गर्दै उद्यमशील बनाउन लागिसकेको छ । युवाको विकास गर्नका लागि युवा विकास बैंकको स्थापना हुनु जरुरी रहेको बताउँदै उहाँले थप्नुभयो – कर्णाली जलश्रोत र जडिबुटीको धनि क्षेत्र भएकोले यो प्रदेशको आर्थिक उन्नतीका लागि कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउनु जरुरी छ ।
साक्षात्कार कार्यक्रममा महामन्त्री शाहीले अब हुने स्थानीय निकायको निर्वाचनमा अधिकांश गाउँ देखि नगरपालिकासम्म काँग्रेसले जीत हात पार्ने समेत विश्वास व्यक्त गर्नुभएको छ । अब हुने स्थानीय तहको निर्वाचनमा कसैले मतदान केन्द्र कब्जा गरेर निर्वाचन जित्छु भन्ने सपना देखेको भए त्यो सपनामै सिमित हुनेछ शाहीको कथन थियो । स्थानीय तहमा प्रतिनिधि नहुँदा बढेको भ्रष्टाचारलाई निर्मुल पार्नका लागि पनि निर्वाचनको विकल्प नभएकोले निर्वाचनमा हुनेमा सबै ढुक्क भएर लाग्न उहाँले आग्रह गर्नुभएको थियो ।






