राष्ट्रिय युवक संगठनको गठन
नेपालगन्ज, २३ चैत्र –
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सदस्यहरुको पहलमा बुधबार स्थानिय जयसपुरका युवाहरुबीच ५१ जनाको राष्ट्रिय प्रजातन्त्र युवक संगठन गठन गरिएको छ । एराप्रपा (राष्ट्रवादी) का केन्द्रिय सदस्यहरु कृष्ण प्रसाद खरेल, उदयसिंह श्रेष्ठ, कौशल आचार्य र तेज नारायण कँडेलको अगुवाईमा मुस्लिम जातीको घना बस्तीको रुपमा रहेको स्थानिय जयसपुर क्षेत्रका युवाहरु स्वस्फुर्त रुपमा एराप्रपा (राष्ट्रवादी) को कार्यालयमा आई प्रवेश गर्नुको साथै सराफत अन्सारीको अध्यक्षतामा ५१ सदस्यको राष्ट्रिय युवक संगठन गठन गरिएको हो ।

बुधबार गठन गरिएको राष्ट्रिय प्रजातन्त्र युवक संगठन जयसपुरका ५१ जनालाई केन्द्रिय सदस्यहरु कृष्ण प्रसाद खरेल, उदयसिंह श्रेष्ठ, कौशल आचार्य र तेज नारायण कँडेलले अबिर लगाई स्वागत तथा बधाई दिएका थिए । मुस्लिम समुदायको घना बस्तीको रुपमा रहेको जयसपुर क्षेत्र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ मा पर्दछ । ५१ जनाको कार्य समितिले अन्य युवाहरुलाई सहभागीता गराई एक हप्ताभित्र पाँच सय एक जनाको युवाको जमात बनाउने प्रतिबद्धता नव गठित युवक संगठनको अध्यक्ष अन्सारीले बताए ।
यसैगरी बैशाख ३१ मा हुने स्थानिय निर्वाचनमा एराप्रपा (राष्ट्रवादी)को तर्फबाट मेयर पदबाट उम्मेदवारी दिने केन्द्रिय सदस्य कृष्ण प्रसाद खरेललाई जयसपुरका बासिन्दाहरुले खुला रुपमा सहयोग गर्न लगाउने कुरामा समेत राष्ट्रिय प्रजातन्त्र युवक संगठन जयसपुरले प्रतिबद्धता जाहेर गरेको छ ।






