Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

निर्वाचन आचार संहिता सम्बन्धि अन्तरक्रिया

सुर्खेत

नेपाल पत्रकार महासंघको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरु लगायत सर्वपक्षियसँग आचार संहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरि आचार संहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी सुनिता थापाले निर्वाचनको सबै तयारी पूरा भइसकेको र मतपेटिकादेखि निर्वाचनका लागि कर्मचारीहरु मतदान केन्द्रहरुमा जान मात्र बाँकी रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, १९ र २० गते मतदाता परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको छ । नयाँ थपिएक मतदाताहरुका लागि नयाँ परिचयपत्र आएको र स्थानीयतहको निर्वाचनको लागि परिचय पत्र लिएका मतदाताहरुले सोही परिचय पत्रको आधारमा भोट हाल्न पाउने छन् । तर कसैको परिचय पत्र हराएको वा नासिएको भएमा परिचय खुल्ने फोटो सहितको कुनै पनि परिचयपत्र (लालपूर्जा, नागरिकता, सवारीचालक अनुमति पत्र आदि) का आधारमा पनि भोट हाल्न दिइने छ ।


अन्तरक्रिया कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले भन्नुभयो, आचार संहिताको पालना नगरे धेरै समस्याहरु उत्पन्न हुने गर्दछन् । आचार संहिताको पालनाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गर्न सकिन्छ । जिल्लामा केही कर्मचारी तथा पत्रकारबाट समेत आचारसंहिताको उलंङ्घन भएको प्रसंग कोट्याउँदै उहाँले थप्नुभयो, विगतको भन्दा सुधार भएको भएपनि सतप्रतिसत सुधार हुन सकेको छैन । आचार संहिता भनेको कानून हो यसलाई नैतिकताका आधारमा पालना गर्नु पर्छ । आचार संहिता उलङ्घनका विषयमा लिखित भन्दा पनि मौखिक रुपमा उजुरी आएको बताउँदै प्रजिअ कार्कीले भन्नुभयो, बाटोमा डोजर लगाएको, खानेपानीका पाइपहरु वितरण गरेका उजुरीहरु आएका छन् । निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न सबैले आफ्नो जिम्मेवारी सम्झनु आवश्यक छ ।


त्यसैगरी कार्यक्रममा पत्रकारले निष्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नु आवश्यक रहेको प्रेस काउन्सीलका सदस्य खिलाबहादुर भण्डारीले बताउनु भएको छ । पत्रकारहरु कुनै पनि राजनीतिक पार्टीको सम्पादक नबनि आ–आफ्नो मिडियाको सम्पादक बन्न भण्डारीले आग्रह समेत गर्नुभयो । पेशालाई मर्यादित बनाउने काममा दत्तचित्त हुँदै समाजलाई सू–सुचित र जिम्मेवारी बनाउने समाचार लेखौं उहाँले थप्नु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले निर्वाचन सफल पार्नु सबै संचारकर्मीको दायित्व भएकोले स्वच्छ, मर्यादित र व्यवस्थित निर्वाचन भयो भएन भनेर निगरानी राखिने र मतदातालाई सू–सूचित पार्ने कार्यमा लाग्नु पर्छ उहाँको कथन थियो । साथै उहाँले सर्वप्रथम आफै निष्पक्ष हुन पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकारहरुले निर्वाचनको समयमा गर्नु पर्ने काम र जिम्मेवारीका विषयमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्षहरु, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष ललित बसेलले शब्द स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण सचिव सुदीप पुरीले गर्नुभएको थियो ।