प्रविधिले विकासलाई सहज बनाउँछ : अधिकारी
पछिल्लो समयमा प्रविधि हरेक क्षेत्रमा अनिवार्य नै भएको छ । प्रविधिको विकासले नै अन्य विकासहरुलाई चुस्त र दुरुस्त गर्न सहयोग गर्छ भन्ने सर्वव्यापी मान्यता स्थापित भइसकेको अवस्थामा विज्ञान र प्रविधिको विकास गर्नका लागि संस्थागत रुपमै कार्य गर्दै आइरहेको छ । भर्खरै मात्र कम्प्युटर एशोसियशन महासंघ नेपाल (क्यान) महासंघको २४औं महाधिवेशनबाट ६ नं. प्रदेशको अध्यक्षमा निर्वाचन हुनु भएका सुर्खेतका कम्प्युटर एशोसियशन महासंघ नेपाल (क्यान) महासंघ सुर्खेतका पूर्वअध्यक्ष समेत रहनुभएका पूर्णदेव अधिकारीसँग समसामयिक विषयमा केन्द्रित रहेर गरिएको भलाकुसारी :

प्रदेश नं. ६ कै क्यानको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभयो कस्तो अनुभव भएको छ ?
खुशी छु । मलाई साथीहरुले यस संस्थाको ६ नं. प्रदेशकै नेतृत्व गर्न सक्षम देख्नु भएकोमा । अनि मैले जुन जिम्मेवारी सम्हाल्ने मौका प्राप्त गरेको छु । यो जिम्मेवारीलाई सफतापूर्वक अवतरण गराउनु पनि मेरो दायित्व हुन आएको छ । प्रविधि के हो ? यसले के गर्छ ? यसको विकास बिना अन्य विकासहरुको सम्भव छ या छैन भन्ने कुरालाई तल्लोस्तरदेखि माथिल्लो स्तरसम्म पु¥याउनु र बुझाउनु पर्ने टड्कारो आवश्यकता भइरहेको अवस्थामा र प्रविधिले सोचेको भन्दा अझै द्रुत गतिमा आफ्नो विकासक्रमलाई अगाडि बढाइरहेको अवस्थामा मैले यो जिम्मेवारी सम्हाल्ने अवसर पाएँ । त्यसको लागि क्यानसँग जोडिनु भएका, व्यापारसँग जोडिनु भएका र सकारात्मक सोचका साथ अगाडि बढिरहनु भएका सबैलाई धन्यवाद दिन चाहन्छु ।
क्यानको प्रदेश नं. ६ को अध्यक्ष भइसकेपछि तत्काल के कस्ता कार्यहरु गर्छु भनेर तय गर्नुभएको
छ ?
क्यानको २४औं महाधिवेशनले प्रदेशको अध्यक्षको जिम्मेवारी सुम्पेको छ । यस प्रदेशको पूर्ण कार्यसमिति विस्तार गर्न बाँकी नै छ । सबैभन्दा पहिले त कार्य समितिको पूर्णता बनाउनु छ । त्यसपछि कार्य समितिको बैठकले एउटा खाका तयार गर्छ । त्यो खाका अनुसार हामी अघि बढ्छौ । तर अध्यक्षको हैसियतले भन्नु पर्दा यस प्रदेशमा संचार र प्रविधिलाई कसरी सबैको पहुँचमा पु¥याउन सकिन्छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने योजना छ । त्यसैगरी अहिले यस प्रदेशका केही जिल्लाहरुमा जिल्ला शाखाहरु क्रियाशील हुन नसकेको अवस्था छ । ती जिल्लाहरुमा जिल्ला शाखालाई क्रियाशील बनाउनु जरुरी छ । यस प्रदेशका प्रत्येक जिल्लाहरुमा प्रविधिको विकासका लागि क्यानले गर्नुपर्ने कुनै पनि काममा कुनै पनि कसर बाँकी नराखी अघि बढ्नुपर्ने अवस्थाको सिर्जना भएको छ । जुन काम सबै तह र तप्काको सहयोगमा हामी गर्न सक्छौ ।
क्यानलाई कम्प्युटर व्यापारीहरुको मात्र संस्था हो भन्छन् नी ? क्यानको अवस्था के छ जिल्ला तथा प्रदेसमा ?
तपाईले अत्यन्तै समय सान्दर्भिक प्रश्न उठाउनु भएको छ । यस संस्थामा झट्ट हेर्दा कम्प्युटर व्यवसायीहरु मात्रै भएको जस्तो देखिएको हो । तर प्रविधि भनेको के हो भन्ने जसले राम्रोसँग बुझेको छ, यसको अध्ययन गरेको छ त्यसको लागि यो कम्प्युटर व्यापारीहरुको मात्र संस्था होइन । यसमा व्यक्तिगत तथा संस्थागत सदस्यता लिन पाईन्छ । सूचना, संचार र प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्था यसको सदस्य बन्न पाउने व्यवस्था छ । अरु प्रदेशको तुलनामा हाम्रो प्रदेश निक्कै नै पछि छ । यस प्रदेशको भौगोलिक बनावट, यस प्रदेशबाट उच्च तहमा प्रतिनिधित्व गर्नेहरुबाट प्रविधिको विकासका लागि जति हुनु पथ्र्यो त्यति हुन नसक्नु । अनि जुनसुकै विकासका लहरहरु पहिले पूर्वबाट शुरु हुने र अन्तिम चरणमा मात्र हामी कहाँ आइपुग्नुले पनि हामी पछाडि छौ । अब प्रत्येक जिल्लाका स्थानीयतहहरुमा समेत प्रविधिको आवश्यक छ त्यसैले पनि यसले फड्को मार्नेमा सायद कसैको दुइमत नहोला ।
क्यान मार्फत प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ ?
हेर्नुहोस्, यो समृद्धि भन्ने शब्दलाई हामीले अझ हाम्रा नेताहरुले यति सस्तो बनायौं कि यो शब्दको अपमान नै हुन थालिसक्यो । जबसम्म सबै कुराको पूर्णता हुँदैन तबसम्म समृद्धि हुँदैन भन्ने सबैले बुझ्न आवश्यक छ । समृद्धिमा पुगिसकेपछि त्यो भन्दा पछि मर्मतको काम होला तर निर्माणको काम सकिएको हुनुपर्छ । यहाँ बाटो, शिक्षा, स्वास्थ्य मात्र होइन शहरको समेत समृद्धिको नारा फलाकिन्छ । तर समृद्धिमा पुग्न कति चरणहरु पार गर्नुपर्छ त्यो जान्न आवश्यक छ । त्यसैले क्यान मार्फत प्रविधिमा यस प्रदेशलाई समृद्ध बनाउनका लागि प्रत्येकको घरमा प्रविधिको उपयोग गर्न सक्ने वातावरणको सिर्जना गर्न जरुरी छ । अनि बल्ल हामी समृद्धि तिर पुग्छौ । एउटा विद्यालयमा, एउटा सरकारी कार्यालयमा, एउटा निजि संस्थामा सामान्य कुरा इन्टरनेटको पहुँच पुग्न नसकेको अवस्थामा समृद्धिका लागि पाइला चाल्नुपर्ने बेला भयो तर समृद्धिलाई भेटाउन निकै मिहिनेत गर्नुपर्ने छ । यसका लागि प्रविधिको क्षेत्रमा काम गर्न क्यान तयार छ । राज्य पुर्नसंरचनाको अवस्थामा छ । यस्तो अवस्थामा हामी डिजिटल डिभाइसको अन्त्यको लागि लागिपरेका छौ । राज्यबाट संचालित हरेक विकास निर्माणका काममा सूचना, संचार र प्रविधिको क्षेत्रमा हामी जहाँ आवश्यक देखिन्छौ त्यहाँ हाम्रो उपस्थिति हुन्छ । विश्व नै सूचना, संचार र प्रविधिबिना लङ्गडो हुने भएकोले नेपाल यसबाट अछुतो हुन त सक्दैन होला । त्यसमा पनि हाम्रो प्रदेश निकै नै पछि छ । यसका लागि हाम्रा नियमित गतिविधिलाई निरन्तरता दिएर हामी अगाडि बढ्ने योजनामा छौ ।
प्रदेशलाई प्रविधिमैत्री बनाउन यहाँको कस्तो भूमिका हुन्छ ?
मैले पहिले नै भने, प्रविधिको क्षेत्रमा हामी कहाँ छौ । प्रविधिको विकासको गतिलाई हामीले कसरी उपयोग गरिरहेका छौ । अनि हामी अहिले प्रविधि मैत्रीको कुरा गर्दैछौ । हो, अन्य प्रदेश भन्दा हाम्रो प्रदेशलाई छिटो र नमूनागत प्रविधिको विकास भएको प्रदेशको रुपमा निर्माण गर्नुपर्ने चुनौती त छ नै । यसमा म एक्लैले भन्दा पनि यसका लागि क्यान महासंघले लिएको बाटोलाई सबैको सहयोग प्राप्त भएमा र विशेष गरी राज्यका स्थानीय तहबाट पनि जनतालाई अनुभूति हुने खालका गतिविधि संचालन भए भने हामी अवश्य हाम्रो प्रदेश प्रविधि मैत्री बनाउने कार्यमा अन्य प्रदेशभन्दा अगाडि हुनेछौ । यसका लागि मुख्य कुरा आर्थिक पाटो नै हो । अबको शिक्षालाई प्रविधिमैत्री शिक्षामा रुपान्तरण गर्न सकियो भने नै मुलुक प्रविधिमा प्रवेश गर्ने हो । यसका लागि प्रविधिसँंग सम्बन्धित उद्योगहरु संचालन हुन जरुरी छ । राज्यले नीतिको मात्र कुरा गर्ने होइन परिस्थिति र वातावरणको समेत निर्माण गर्न जरुरी छ । लगानीको सुनिश्चितता र उद्योगमा प्रवद्र्धन भयो भने प्रविधिले राज्यका धेरै समस्या समाधानमा सहयोग पु¥याउने छ । स्थानीय तहसँंग मैले आवश्यक भूमिका निर्वाह गर्नेछु भने केन्द्रको नीति निर्माण तहसम्म पनि क्यान महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ । त्यसलाई कार्यान्वयन गर्न सकेको खण्डमा नै तपाईले भने झैँ यस प्रदेशलाई प्रविधिमैत्री प्रदेशको रुपमा विकसित गर्न सकिनेछ भन्ने मलाई लाग्छ ।
अन्त्यमा, केही भन्नु छ की ?
पछिल्लो समयमा नेपालमा संचार क्षेत्रमा भएको क्रान्तिले जुन परिवर्तन देखिएको छ यो उत्साहजनक छ । तर अब मोबाइलमा कुरा गर्दैमा र फेसबुक चलाउँदैमा सूचना, संचार र प्रविधिको विकास र विस्तार भइसक्यो भनेर कानमा तेल हालेर बस्ने समय होइन यो । के प्रविधिको विकास हुनु भनेको यति नै हो त ? संसारमा हुने हरेक परिवर्तनका सकारात्मक प्रभाव नेपालका कुनाकन्दरामा पनि प्रति सेकेण्डमै पुग्न सक्नुपर्छ । यसका लागि मुख्य कुरा त डिजिटल डिभाइस नै हो । यसका लागि क्यान महासंघले आफ्ना कार्यहरु निरन्तर अघि बढाउने नै छ । सबैको आ–आफ्नो क्षेत्रबाट सहयोग उत्तिकै महत्वपूर्ण हुन्छ । प्रविधिको विकास बिना अन्य कुनै पनि विकास सहज रुपमा संम्भव छैन । त्यसैले प्रविधिको विकासमा हातेमालो गर्न सम्पूर्ण प्रविधिप्रेमी, विकासप्रेमी, संचारप्रेमी लगायत सरोकारवालाहरुलाई आव्हान गर्दछु ।
(काँक्रेविहार दैनिक)






