सरस्वती वन्दना – वासुदेव पाण्डेय ‘प्रभाकर’

सेतो स्वच्छ सफा छ वस्त्र तनमा छन् व्यस्त चारै कर
ब्रह्माकी तनया छ ज्ञानगुनको भण्डार दिन्छ्यौ वर ।
वाग्देवी छर ज्ञान यो जगविषे एक्लै सदा सर्वदा
वीणा पुस्तकधारिणी सरस्वती सद्बुद्धि देऊ सदा ।।
तिम्रो वाहन राजहंस दुध वा पानी छ छुट्याउने
वाणी वाहक हौ बसी हृदयमा सत्मार्ग देखाउने ।
ज्ञानी,शान्त र नम्र,स्वच्छ,विनयी छ्यौ भावनाकी धनी
लेख्थेॅ काव्य मिठो गणेश गतिमा तिम्रो म चेलो बनी ।।
गुम्सेका मनभित्रका विरह वा उत्साहका भावना
कोर्ने चित्र सजीव यो मुलुकको हुन्थ्यो पुरा चाहना ।
नेपाली जनभावना प्रकृति यो सारा अटोस् काव्यमा
हे देवी कसरी कहाँ र कहिले अट्छयौ महाकाव्यमा ।।









