Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

अश्लील कविता – भरत रोदन सावद

अश्लील कविता

मैले कहिल्यै पनि नसुनाएको
अत्यन्त अश्लील एउटा कविता छ
त्यसमा म मात्र नाङ्गै देखिने भए त केही थिएन
तपाईं पनि नाङ्गै देखिनु हुन्छ
त्यसैले
साच्चै महाशय
सिरियसली भन्दै छु
त्यो अश्लील कविता यति अश्लील छ
अाज यति मात्दा पनि म सुनाउन सक्दिन

अँगालोमा अाफ्नी श्रीमती राखेर
दिमागमा अर्कैकी श्रीमती राखेको कुरा मात्र भए त केही थिएन
श्रीमतीलाई पेन्टी किन्ने पैसा नभएर
मजदुरी गर्ने बुवासँग माग्नुपरेको टेन्सनले
रक्सी खाएर
गजल लेखेको कुरा पनि छ त्यसमा
त्यसैले त्यो अश्लील कविता अाज पनि सुनाउन सक्दिन

तपाईलाई लाग्दो हो
यो मेरो कविता हाे
र लाग्दो हाे –
खतम घटिया मान्छे रहेछ
तर याद गर्नुहोस् महाशय
यो तपाईको कविता हो
र तपाईं यसभन्दा पनि खत्तम घटिया मान्छे हो
हो कि होइन भन्नोस त !

हरेक पटक
नाइट बसको यात्रा गर्दा
राजमार्गका होटलहरूमा
रक्स्याहा मुतको गन्धले
ट्वाइलेटको ढोकाभित्र पस्नै नसकी
नाक थुनेर ढोकैबाट पिसाब गर्ने गरेको यथार्थ छ त्यसमा
र छन् यस्ता कतिकति नाङ्गा यथार्थहरू

कक्षाकी सबैभन्दा हिस्सी परेकी केटीलाई
हरेक सपनामा देख्ने गरिरहेको कालबेलामा
होमवर्क सार्ने बहानामा
कक्षाकी सबैभन्दा अनुहार नपरेकी केटीले
नोटबुक मागेर त्यसभित्र
प्रेमपत्र लुकाएर फर्काएकाे दिन
हतारहतार कोठामा फर्केर
उसको पत्र पढ्दा पनि
मनमा लागेको उखरमाउलो काउकुती मात्र भए त केही थिएन त्यस कवितामा
प्रत्युत्तरमा अाफूले
मध्यकालीन कविताको नक्कल गर्दै
अाफ्नी त्यस सपनाकी हिस्सी नायिकालाई सम्झेर
उसका नखसिख र कुचकटीको
कसरी वर्णन गरेँ
त्यो सब लेखिएको छ
त्यसैले म कहिल्यै सुनाउन सक्दिन ।

हात समात्दै
कुम जोर्दै
अँगालो मार्दै
टि यु को पार्कभित्र पसेर पर कुनातिर
रूखमा छेलिएर चुम्बनरत अधबैँसे जोडी कसको हो
जाहेर छ –
त्यो अर्कैको लोग्ने हो
र त्यो अर्कैकी स्वास्नी हो
किनभने –
हामी सबलाई थाहा छ :
अाफ्नै लोग्नेस्वास्नी चुम्बन गर्न
टियुको पार्क गइरहनुपर्दैन

यस्ता कति हो कति सत्यहरू
नाङ्गै देखिने जोखिम भएको
मैले कहिल्यै नसुनाएको एउटा अश्लील कविता छ
त्यो यति अश्लील छ कि
म मात्र नाङ्गो देखिए त केही थिएन त्यसमा
महाशय
तपाईं पनि नाङ्गै देखिनुहुन्छ
त्यसैले अाज पनि म सुनाउन सक्दिन

भरत रोदन सावदको फेसबुकबाट