Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

गुराँस गाउँपालिकामा सिसिटिभी जडान

दैलेख, ७ चैत्र ।
गुराँस गाउँपालिकाले कार्यालयमा हुने कामलाई प्रभावकारी र मर्यादित बनाउन सिसि टिभी जडान गरिएको छ । कर्मचारीको कार्य प्रती निगरानी गर्न तथा सेवाग्राहीलाई समयमा सेवा उपलब्ध गराउन सिसि टिभी जडान गरिएको हो ।


सिसि टिभी जडान पश्चात कर्मचारीले काम गरेको नगरेको हरेक रेकर्ड रहने तथा सेवा लिन आउने सेवाग्राहीले के कस्ता कार्य गरिरहेका छन् भन्ने जानकारी प्राप्त हुने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा कर्मचारीहरुको काम प्रति जनगुनासो बढ्न थालेपछि सिसि टिभी जडान गरिएको हो । सिसि टिभीबाट कर्मचारीहरुको कामको मुल्याङ्कन आफैले गर्ने अध्यक्ष ओलीले जानकारी दिए । गाउँपालिकामा कुनै व्यक्तीबाट अपराधिक कार्य हुन सक्ने भन्दै अध्यक्ष ओलीले गाउँपालिका कार्यालयलाई सुरक्षाको महसुस बनाउन पनि सहयोग पुग्ने बताए ।

गाउँपालिकाले कार्यालयमा यसअघि विद्युतिय हाजिरी समेत जडान गरि सकेको छ । यो हाजीरी शुरु भएपछि कर्मचारीहरु समयमै कार्यालय आउन थालेको अध्यक्ष ओलीले जानकारी दिए । गाउँपालिका भरका विद्यालय तथा वडा कार्यालयमा पनि विद्युतिय हाजिरी शुरु गर्न लागिएको भन्दै अब कुनैपनि कर्मचारीले ढिला सुस्ती गर्न नसक्ने ओलीले दाबी गरे । पहिलो चरणमा विद्यालय र वडा कार्यालयमा विद्युतिय हाजिरी शुरु गर्ने भन्दै उनले त्यसपछि अन्य कार्यालयमा पनि यो हाजिरीको शुरुवात गरिने बताए । उनका अनुसार गाउँपालिकाका सबै विद्यालय र कार्यालयमा केहि समयपछि सिसि टिभि जडान गर्ने योजना छ ।