देउतीबजै मन्दिरमा गुरुयोजना अनुसार पुनर्निर्माणको तयारी
सुर्खेत, २० चैत-
वीरेन्द्रनगरमा रहेको धार्मिक तिर्थस्थल गंगामाला देउती बजै मन्दिरमा गुरुयोजना अनुसार काम गरिने भएको छ । मंगलवार बिहान देउती मन्दिर प्राङ्गणमा भेला बाट देउती मन्दिरको भौतिक अवस्था सुधारका लागि ५ वर्षे गुरुयोजना बनाइने भएको छ । मन्दिरको गुरुयोजना अनुसार वैशाख ७ गतेदेखि मनिदर प्राङ्गणमा देउतीबज्यै विराट धनधान्याञ्चल महायज्ञ– २०७५ आयोजना गरेर उक्त अभियानको थालनी गरिने व्यवस्थापन आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । उनले महायज्ञपछि निरन्तर पाँच वर्षसम्म निर्माण कार्य जारी रहने र निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।
मंगलवार बिहान देउती मन्दिर प्राङ्गणमा भेला भएका समाजसेवी,अगुवा स्थानीय ब्यक्तिहरुले अभियानलाई सफल बनाउन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
भेलामा मन्दिर व्यवस्थापन समितिका संयोजक नगर प्रमुख देवकुमार सुवेदीले मन्दिरमा गुरु योजना सहित पुनर्निर्माणको काम सुरु गर्नमा सबैको सहयोगको अपेक्षा राखेका छ्न । महत्त्वपूर्ण अभियान सञ्चालन गर्न लागेकाले सबैको महत्त्वपूर्ण भुमिका रहने बताए ।
देवघाटबाट आएका सन्त सविन सिवाकोटीले आफ्नो ध्यान पवित्र मन्दिर वातावरण निर्माणमा केन्द्रित भएको बताए । ‘जहाँ हेर्नुस् अशुद्ध छ, त्यो अशुद्धताकै कारण दिनहुँ व्यक्तिहरूको अकालमा ज्यान गइरहेको छ,’ उनले भने, ‘यही परिस्थितिलाई सुधार गर्न म देवघाटबाट आएको हुँ । मसँग अरु कुनै स्वार्थ छैन ।’ उनले पछिल्लो पुस्ता धर्मकर्मप्रति अलि कम चासो देखाउने गरेका कारण समस्यामा परेको दाबी समेत गरे ।
मुकुन्दश्याम गिरी संयोजक रहेको उक्त समितिमा सहसंयोजक डाक्टरसिंह गुरुङ, महासचिव रमेश सापकोटा, सचिव नारायण कुमार चपाई, सहसचिव जीवन कुमार शर्मा, कोषाध्यक्ष सुरज प्रसाद आचार्य, सहकोषाध्यक्ष रमेश खड्का पदाधिकारी रहेका छन् । यस्तै सदस्यहरुमा रमेश कुमार पाण्डे, प्रेमबहादुर रावत, पार्वती गिरीलगायत २१ सदस्यीय समिति रहेको छ ।







