Loading... आजः १७ बैशाख २०८३, बिहीबार । Thursday 30th April 2026
ताजा खबर
  

ट्राफिकलाई हेर्ने दृष्टिकोण बदलौं : भण्डारी

सुर्खेत १ असार ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले ट्राफिकलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताउनु भएको छ । सवारी दुर्घटना न्यूनिकरण तथा सडक सभ्यता अभिबृद्धिमूलक एक दिवसीय गोष्ठीमा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो । केवल ट्राफिक प्रहरीले मात्र सडक दुर्घटना न्यूनिकरण गर्न नसक्ने भएकोले सबैले ट्राफिक प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, प्रदेशमा नयाँ ट्राफिक कानून ल्याउँछौ र सडक दुर्घटनालाई न्यूनिकरणका लागि चालकहरुको ज्यादतीलाई निमिट्यान्न पार्छौ । सवारी दुर्घटना हुन नदिनु ट्राफिक प्रहरीको ठेक्का नभई सबै सचेत नागरिकहरुको दायित्व हो, मन्त्री भण्डारीले भन्नुभयो ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले देश विकासको गतिमा अगाडि बढिरहेको बेलामा सडक निर्माण कार्य तिब्रगतिमा भइरहेको भएपनि ती सडकहरु यातायातका साधनहरु संचालनका दृष्टिले सुरक्षित नभएको बताउनु भयो । सडक विस्तारसँगै सवारी साधनमा समेत बृद्धि भएको बताउँदै प्रजिअ कार्कीले ऐन नियमको पालना गर्न गराउन नसक्नु सडक दुर्घटनाको कारण भएको बताउनु भयो ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश बिक्रम शाहले भन्नुभयो, हाम्रा सडकहरु इन्जिनियरहरुबाट भन्दा पनि डोजरबाट निर्माण हुने भएकोले पनि वैज्ञानिक सडकहरु बन्न नसकेको बताउनु भयो । विशेष अतिथिको आशनबाट बोल्दै डिआइजी शाहले भन्नुभयो , विश्वमा वार्षिक १२ लाख ५० हजार मान्छेले सडक दुर्घटनामा ज्यान गुमाउँछन् भने नेपालमा २ हजार बढिले ज्यान गुमाउने गरेको तथ्याँङ्क छ । यसैगरी कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा ७६ वटा साना ठूला दुर्घटनामा १४५ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको हालसम्म १११ जनाको ज्यान गइसकेको छ । डिआइजी शाहले सडक दुर्घटना गम्भीर समस्याको रुपमा रहेको बताउनु भयो ।

क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख राजेन्द्र खड्काले चालकको लापरवाहीले दुर्घटना बढिरहेको बताउँदै २० प्रतिशत चालकहरुमा उच्च रक्तचापको समस्या रहेको बताउनु भएको थियो । शुभकामना मन्तव्य दिँदै यातायात व्यावसायी रमेश सापकोटाले सडक दुर्घटनाको न्यूनिकरण गर्न जरिवाना भन्दा पनि चेतनाको बृद्धि गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, लेकबेसी नगरपालिकाका प्रमुख गगन सिं सुनार, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हरिबहादुर बिसीले गर्नुभएको थियो ।