पत्रकारको सुरक्षा पनि गर्छौ : बिमा पनि गर्छौ – कर्णाली प्रदेश सरकार
सुर्खेत २८ कार्तिक ।
कर्णाली प्रदेश सरकारले पत्रकारहरुको सुरक्षाका साथै स्वास्थ विमा कार्यक्रम पनि लागु गर्ने भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राज्य व्यवस्था परिवर्तनदेखि विभिन्न कुरिती, भ्रष्टाचार अन्त्य गर्नमा पत्रकाहरुको ठुलो भुमिका रहने बताएदै पत्रकारहरुको सुरक्षा सहित स्वास्थ्य विमा गर्ने बताएको हो ।

पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले यसो बताएका हुन् ।
मन्त्री भण्डारीले पत्रकारहरुको सुरक्षाका लागि कानुन मन्त्रालयले ‘पत्रकार स्वास्थ्य विमा’को व्यवस्था गर्न लागेको जानकारी दिए । ‘हामी पत्रकारहरुको स्वास्थ्य विमाको व्यवस्था गर्दैछौँ, करिब करिब कार्यविधि अन्तिम चरणमा पुगिसकेको छ’ भण्डारीले भने, ‘अबको केही दिनमा नै हामी पत्रकार स्वास्थ्य विमामा सामेल हुन तपाईहरुलाई अपील गर्छौँ ।’ स्वास्थ्य विमा कार्यक्रमले पत्रकारहरुलाई केही हदसम्म भएपनि सुरक्षाको प्रत्याभुति हुने उनले बताए ।

मन्त्री भण्डारीले पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य गर्न प्रदेश सरकार तयार रहने बताउदै यसको लागि कर्णाली प्रदेश सरकार क्रियाशिल भएर लाग्ने बताए । उनले कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारीतामा आर्कषण गर्न सरकार लागिपर्ने बताए । ‘कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारितामा लाग्न आर्कषित गर्छाै’ मन्त्री भण्डारीले भने, ‘पत्रकारिता लोकतन्त्रको पहरेदार पनि हो, समाज रुपान्तरणको उत्तरदायित्व बोकेको पत्रकारिता क्षेत्रमा जति जिम्मेवारी छ त्यति जोखिम छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले खोजी रिपोटिङ गर्दा पत्रकारहरु जोखिममा रहेको भन्दै पत्रकारको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि कर्णाली सरकार पहल गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका एसएसपि मोहन आचार्य, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठ, वीरेनद्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम फ्रिडम फोरमका कर्णाली प्रदेश प्रतिनिधि लक्ष्मी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।






