Loading... आजः १४ असार २०८३, आईतवार । Sunday 28th June 2026
ताजा खबर
  

कविता – तामा बनेको दिन 

 

रोपेँ बीउ मुरी कडा श्रम गरी फल्दा छ माना हुने
जग्गा किन्दछु रोपनी तर हरे! जाँच्दा छ आना हुने
चोली टेलरले दियो घर पुगी जामा बन्यो खै किन?
पक्रेको सुन जो थियो सहरमा तामा बनेको दिन

Image may contain: हिरा भट्ट, standing, mountain, outdoor and nature।१।
हाडेको उपचार पूर्ण गरियो जाँच्दा छ खोकी-दम
सावाँ ब्याज मिलाउँदा रकम झन् भो ब्याज भन्दा कम
ल्याएँ गोरु नयाँ किनेर घरमा म्या म्या गर्यो खै किन?
पक्रेको सुन जो थियो सहरमा तामा बनेको दिन
।२।
मेची जान्छु भनी नयाँ बस चढेँ लैजान्छ कालीतिर
पत्नी खातिर पत्र प्रेषित गरेँ गैजान्छ सालीतिर
पेटीकोट लगाउँदा पलकमै कुर्ता बन्यो खै किन?
पक्रेको सुन जो थियो सहरमा तामा बनेको दिन
।३।
लेखेको कविता थियो तर सखे हेर्दा कथा देखियो
छाम्दा सूक्ष्म कुना कुना मुलुकको नौलो व्यथा लेखियो
नानामै सरकार जो छ छिनमै नाङ्गो बन्यो खै किन?
पक्रेको सुन जो थियो सहरमा तामा बनेको दिन
।४।
चारैतर्फ अनिष्ट लक्षण सबै तत्काल जो देखिए
सारा सार कथा पसी कलममा धर्सा बने लेखिए
लम्केको प्रहरी प्रशासन मिली हेर्दै झुकायो शिर
पक्रेको सुन जो थियो सहरमा तामा बन्यो आखिर
।५।
छन्द:शार्दूलविक्रीडित छन्द