Loading... आजः १७ असार २०८३, बुधबार । Wednesday 1st July 2026
ताजा खबर
  

सुर्खेतमा भेटियो डेंगु

सुर्खेत ।
देशका विभिन्न स्थानमा देखिएको डेंगुको प्रकोप बढिरहेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि डेंगुका २ जना विरामी फेला परेका छन् । प्रदेश अस्पताल सुर्खेतका अनुसार सुर्खेतमा २ जना डेंगुका विरामी फेला परेका हुन् । सुरुको अवस्थामा नै रहेकोले विरामीहरु सञ्चो भएर अहिले घर फर्किसकेका छन् ।


सुर्खेतमा पनि डेंगुका विरामी देखा पर्न थाले पछि सर्तकता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । विशेष गरि बिहान र साँझको अस्ताउने बेलाको घामको समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् । यस वर्ष पहिलो पटक चितवन जिल्लामा भेटिएको डेंगु रोग अहिले कर्णाली प्रदेशदेखि सुदूर पश्चिमका चार ओटा जिल्लामा समेत देखा परेको छ ।

डेंगु रोग फैलाउने लामखुट्टेले सफा पानी अर्थात अक्सिजन भएको पानीमा फुल पार्ने र त्यो फुल झण्डै ६ महिनासम्म जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाडा सधैँ सफा गर्नुपर्ने प्रदेश अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डाक्टर डम्बर खड्काले बताए । ‘डेंगु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा फुल पार्ने र फुल जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्को लगायतका भाडा सधैँ धुने र सफा गर्ने गर्नुपर्छ’, उनले भने ।


यो रोग अहिले छिटफुट रुपमा मात्र देखिएको छ तर अरु धेरै विरामीमा देखियो भने यसलाई नियन्त्रणमा लिनका लागि तुरुन्त पहल चालिने प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डाक्टर खड्काले बताए । उनले भने, ‘पानी जम्ने स्थानमा उक्त लामखुट्टेले फूल पार्ने भएकोले घर वरिपरि पानी नै जम्न नदिनु र यसको टोकाइबाट बच्नु पर्छ । हामीले यस सम्बन्धमा प्रदेश अस्पतालमा कार्यरत सबैलाई ओरेन्टेशन नै दिइसकेका छौ ।’ यो लागेको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा पुग्नु पर्ने उनको भनाई थियो । डेंगु प्रभावित जिल्लाका विभिन्न वडा तथा क्षेत्रमा रोग नियन्त्रणका लागि खटिएको सरकारी टोलीले अहिले धुँवा लगाउने (फगिङ) समेत काम गर्दै आएको छ ।