अदालत दुई सातासम्म बन्द
काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन देशभरिका अदालत दुई साताका लागि बन्द हुने भएको छ ।
अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकले दुई सातासम्म अदालत बन्द गर्ने निर्णय गरेको हो । निर्णयअनुसार आइतबारदेखि चैत २२ गतेसम्म अदालतहरु बन्द हुनेछन् ।
नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न अदालतसमक्ष आग्रह गरेको थियो ।
बारले गत चैत ४ गते प्रेस विज्ञप्तिमार्फत मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न आग्रह गरेको थियो ।







