Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

देवकीका ‘छुटेका सपनाहरु’

म कुनै समालोचक त होइन् । तरपनि कहिले काँही मन परेका पुस्तक पाएँ भने त्यसलाई मज्जैले पढ्ने गर्छु र मनका लागेका कुराहरु लेख्ने गर्छु । जसले गर्दा मैले पढेको पुस्तकमा सर्जकले सिर्जना गरेका रचनाहरुलाई म आफैले कत्तिको बुझ्न सके भन्ने आफ्नै मूल्याङ्कन हुने गर्दछ मेरा लागि ।

केही दिन अघि मात्र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एउटा मुक्तक सङ्ग्रहको विमोचन भयो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल विमोचन कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । तर त्यहाँ पुस्तकको विमोचन भने उपस्थित सबै अतिथिहरुबाट गराइयो । यसैबाट मलाई लाग्यो पुस्तक मात्र होइन पुस्तक भित्रको गुदी पनि फरक छ ।


त्यो पुस्तक हो देवकी तिमल्सिना ‘समीक्षा’ को मुक्तक सङ्ग्रह ‘छुटेका सपनाहरु’ । अग्रज साहित्यकार गणेशभक्त गौतमले मुक्तक सङ्ग्रहको बारेमा सामान्य समिक्षा गर्नुभयो । मुक्तकका केस्रा – केस्रा केलाउन सक्ने गौतमले समय अभावका कारण त्यसो त गर्नु भ्याउनु भएन तर ‘छुटेका सपनाहरु’ पढ्नै पर्छ भन्ने कौतुहलता भने भरिदिनु भयो । हुन त मैले देवकी जी को ‘योद्धाका सपना’ कविता सङ्ग्रह पनि पढेको छु । कम अब्बल छैनन् ती कविताहरु पनि ।

‘छुटेका सपनाहरु’ मुक्तक सङ्ग्रह पढ्नका लागि विमोचन भएपछि ३ दिन पर्खनु प¥यो मैले । पढे, मज्जाले एकान्तमै बसेर पढे ‘छुटेका सपनाहरु’ । पढ्दै जाने क्रममा देवकी जीका मुक्तकले मलाई कहिले कलम लिएर लेख्न बस्न अह्राइरहेका थिए भने कहिले बन्दुक बोक्नु पर्छ भन्ने कासन दिइरहेका थिए ।

उक्त पुस्तकमा साहित्यकार उषा शेरचनले भने जस्तै छोटो, मीठो ट्वाक्क अचारजस्तो विधा मुक्तकमा पोखिएका ‘छुटेका सपनाहरु’ ले मेरो निद हराम गरिदिए । सपना देख्न त निदाउनु पर्छ तर यहाँ स्रजकले ननिदाएरै देखेका सपनाहरु समेटिएका मुक्तकहरु एकपछि अर्को पढ्दै जाँदा कहिले जिउँमा काँडा उम्रिन्थे, जरङ्ग । कहिले उहाँका मुक्तकहरुले निकै निराशा छाउथ्यो । हिजोका दिनमा हजारौं युवाहरुले गरेको जनयुद्धले खासै प्राप्ति गर्न नसकेको स्पष्ट बोलेको छ उक्त सङ्ग्रहले । शान्ति सम्झौता हुनुभन्दा अगाडिको समयलाई झल्झल्ती आँखा अगाडि उभ्याउन सक्ने क्षमता मात्रै राख्दैनन् ती मुक्तकहरुले शान्ति सम्झौता पछि नेताहरुले गरेका क्रियाकलापको कारण, जनयुद्धमा सँगसँगै ज्यानको बाजी लगाएर होमिएकाहरुको वेवास्ता भएको छ । जसले गर्दा पाठकको मनलाई बुलबुलेमा उम्लेको पानी झैँ उमाल्छन् मुक्तकहरु र तताउछन् रगतलाई ।


हिजोका दिनमा बन्दुक बोकेर आजको लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न सफल योद्धाहरुलाई पार्टी व्यवस्थापन गर्न नसकेकोमा निकै आक्रोश छ । देवकीजीले मुक्तक मार्फत ओकले पनि यहाँ ओकल्न नसक्नेहरु धेरै छन् । जनयुद्धको चपेटामा परेकाहरुले अहिले पनि पाखो बारी निखन्न पाए कि पाएनन् । साहुको ऋण तिर्न सके कि सकेनन् । आफ्नै आँखा अगाडि देखिएको दृष्यलाई कलात्मकताका साथ यसरी उतारिएको छ मुक्तकमा –

पाखो बारी निखन्न र साहुको ऋण तिर्नका लागि
यस कारण उ बाध्य भयो मुग्लान छिर्नका लागि
आँसु, र पसिना बेचेर के कमाउला, कति कमाउला
विवशताहरुले तगारो हाल्छन् स्वदेश फिर्नका लागि ।

अहिलेको नेपाली समाजलाई एकपटक ऐनमा हेर्ने हो भने यो मुक्तकको व्याख्या गर्नु पर्दैन मैले । यस मुक्तकको जवाफमा नेपाली समाजलाई मात्र होइन शासन सत्ता चलाउनेहरुलाई म भन्छु –
पाखो बारी निखन्न बाँकी छ साहुको ऋण तिर्न बाँकी छ
स्वदेशमै केही गर्छौ भन्नेहरु पनि मुग्लान छिर्न बाँकी छ
युवालाई विदेश पठाएर रेमिट्यान्समा रमाउने ए ! सरकार
यति धेरै गिरिसकिस् भन् अब कति गिर्न बाँकी छ ।

दबिएका आवाजहरु उठ्नु पर्छ । हेपिएकाहरु जाग्नु पर्छ । पछाडि पारिएकाहरु अगाडि आउनु पर्छ, आफै आउनु पर्छ । अरुले समातेर ल्याइँदिँदैमा कति दिन अगाडि लाग्न सकिन्छ । त्यसैले बन्नु पर्छ सक्षम र राख्नुपर्छ सामथ्र्य । देवकीजी लेख्नुहुन्छ –
मेरो पनि जिन्दगीको दुःख कम लाग्दैन कमरेड
घाउहरु गहिरा छन् तर मलम लाग्दैन कमरेड
मनहरु च्यातिएका छन् आँखाहरु रोएका छन्
तिमीलाई भने हाँस्दै हिड्न सरम लाग्दैन कमरेड ।

जनयुद्धको बेलामा शिरमा कफन बाँधेर हिडेका कमरेडहरु अहिले झुपडीको बासमा छन् । तिनलाई शिरमा बाँध्ने कफन दिनेहरु सिसाका महलमा छन् । शरिरमा रहेका गोलीका छर्राहरु निकाल्न नसक्ने कमरेडहरुका मन मुक्तकमा भने जस्तै च्यातिएका छन्, रोएका छन् । तर साँच्चिकै लाज र सरम पचाउन सक्नेहरु कोही माननीय छन् कोही मन्त्री छन् ।

यस मुक्तकले बोलेको कुरा ती नेताहरुसम्म पुग्नुपर्छ । नेताहरुले पनि कान खोलेर सुन्नुपर्छ देवकीजीका जस्तै सपनाहरु नभएपनि विपनाका बीचमा मैले भन्नैपर्छ –
युद्धमा कति मरे कति घाइते छन्
सुख सयल गर्नेहरु छ ल्याइते छन्
न्याय दिने न्यायलय हराएको बेला
न्यायधिस जस्तै नेतापनि काइते छन् ।

हजार बस्तीहरुलाई आजाद बनाउन चाहने अनि हजारौं क्रान्तिवीरहरु जन्माउन चाहने साथै कुरीति र कु–संस्कारले जकडिएको समाजमा चेतनाको चिराग बाल्न चाहने देवकीजीका सपनाहरु पूरा कहिले होलान् ? मुक्तक सङ्ग्रह ‘छुटेका सपनाहरु’ मा केवल विरोध र क्रोध मात्र छैन । विचारले संसारलाई सिंगार्न सक्ने, निमुखाहरुको आवाजलाई उमार्न सक्ने देश, समाज र परिवर्तनका लागि मर्न या मार्न सक्ने सामथ्र्य पनि बोलिएको छ ।


बाल्यकालमै संघर्षको सूरुवात भएकोले सीप र इलममा लाग्न नसकेको मुक्तक मार्फत उल्लेख गरेको भएपनि यस्ता जिउँ नै सिरिङ्ग हुने मुक्तकहरुको रचना गर्ने सीपलाई मुक्तककारले कम आँक्न मिल्दै मिल्दैन । सायद यही कुरालाई मनन् गरेर होला मुक्तककारले लेख्नुभएको
छ –
रुनसम्म रोएँ तर अब कहिल्यै रुन्न
र आँसुले परेला यी कहिल्यै पनि धुन्न
जति रोयो आफैलाई पीडा हुँदो रैछ
सारा संसार भोगिसकें अब कमजोर हुन्न ।

हो, रुवाइँले आफैलाई कमजोर बनाउँछ । परेलीका डिल हुँदै बग्ने आँसुहरुले पिर पखालिँदैन । त्यसैले बन्न सक्नुपर्छ कठोर पनि । फूलको जवाफ पत्थरले दिनैपर्छ । संसारमा भोग्नु पर्ने भोग गरिसकेपछि उसलाई कमजोर ठान्नु मुर्खता हुन्छ होला ।

देश संघीयतामा गइसकेपछि र प्रदेशको स्थापना भइसकेपछि रगतको खोलो बगेर जन्मेको कान्छो प्रदेश कर्णाली । नेपाली भाषाको उद्गमस्थल कर्णाली । अहिलेसम्म कर्णाली प्रदेश सरकारले भाषा र साहित्यका लागि एउटा प्रज्ञा प्रतिष्ठान गठन गर्न सकेको छैन । तर देवकीजी का मुक्तकले बोलेको छ –
नेपाली भाषाको उद्गम थलो हो हाम्रो कर्नाली
प्राकृतिक स्रोत साधनको खलो हो हाम्रो कर्नाली
संरक्षण, उत्पादन र प्रशोधनमा जोड दियौं भने
सभ्यता र संस्कृति उमार्ने हलो हो हाम्रो कर्नाली ।

उपर्युक्त मुक्तकले बोले जस्तै कर्नालीको खलोमा प्राकृतिक स्रोत साधनको विस्कुन सुकाउन सक्नुपर्छ । संरक्षण, उत्पादन र प्रशोधनका लागि प्रज्ञा प्रतिष्ठानको गठन हुनैपर्छ । अनि जोत्न सकिन्छ सभ्यता र संस्कृतिको जमिनलाई र मेटाउन सक्छ कर्णालीले साहित्यको भोक । त्यसका लागि हामीले जुट्नै पर्छ, उठ्नै पर्छ । अब तात्तिनै पर्छ र आत्तिनै पर्छ त्यसै भन्छु म पनि –
तपाईं हामी जुट्नैपर्छ कर्नालीको सभ्यता जोगाउन
भाषा, साहित्य, मार्सि र दर्नालीकोे सभ्यता जोगाउन
हराउन दिनुहुन्न मासिन दिनुहुन्न लोकसाहित्यलाई
पूर्व मेची र पश्चिम महाकालीको सभ्यता जोगाउन


देश प्रेमले ओतप्रोत भएका मुक्तकका बान्कीहरु पनि छन् ‘छुटेका सपनाहरु’ भित्र । पराइले सीमा मिच्दा मनमा आगो बलेको छ । नयाँ समाजको निर्माण गर्न फेरि जग हाल्नु पर्ने अवस्थाको सिर्जना भएको छ । कर्णालीमा मोटरबाटो पु¥याउन गरिएको डोजर आतंकले गरिबको नामको एक मुठी माटो पनि सिध्याइदिएको छ । झुपडीको रुप फेर्नका लागि ज्यानको बलिदानी दिन तयार योद्धाहरु आज यथास्थितिबादीबाट प्रताडित छन् । आफ्नोपनको आभाष आउन सकेको छैन भने विजयको झण्डा फहराएको जस्तो लाग्न सकेको छैन । अझैँ पनि गरिबले एक मानो पीठो सजिलै पाउन सकेको अवस्था छैन । तर कोही महलमा बसेर साम्यवादका कुरा गर्दैछन् । कर्णाली नून र चामलको आस्वासनबाट मुक्त हुन सकेको छैन । आजको यो गणतन्त्रका लागि आफ्नो ज्यान धेरै पटक दाउमा राख्नेहरुले के पाउन सके र के पाउन सकेनन् मुक्तककारले आफ्ना मुक्तकका चतुष्पदहरुमा दरो र खरो प्रश्न गर्नुभएको छ ।

कुनै बेला बन्दुक बोकेर लडेकी देवकीले इमान्दारलाई रुवाएर हाँस्नेहरुलाई, स्वाभिमानको आँखा छलेर नाच्नेहरुलाई, गारो सारोमा परेका जनताहरुलाई देखेर मुन्टो बटार्नेहरुलाई अनि गरिब र निमुखाहरु मारेर बाँच्नेहरुलाई अहिले कलम बोकेर होसियार रहन कासन गर्नुभएको छ ।

मान्छे स्वभावैले प्रेमिल हुन्छ । सायद मान्छे प्रेमिल नहँुदो हो त यो सृष्टिको संरचनामा बाधा पर्ने थियो होला । त्यसैले होला आँखा आँखामा फूलाएको, मायालाई मनको पाखामा फूलाएको, रुप र रंगलाई गौण मानेर पिरतीलाई ह्दयको भाकामा फूलाएको कुरा मुक्तकका बान्किहरुमा उल्लेख छ । सत्प्रतिसत यथार्थतामा रहेर निर्माण गरिएका यी मुक्तकहरुमा मुक्तककार त्यतिबेला रमाउनु हुन्छ जतिबेला सन्तानले सताएर रुवाएको बेला पनि खुसी लाग्छ । बाबालाई गाजल लगाइदिएको बेला होस् या आफ्ना ओठमाथि जुङ्गा बनाइ दिएको बेला होस् । साँच्चिकै सन्तानसँग खेल्नुको माया जति आमालाई थाह हुन्छ त्यति बाबुलाई पत्तै हुँदैन ।

विश्वमा धेरै राजनीतिक परिवर्तनहरु भए । हाम्रै देशमा पनि जहानियाँ राणा शासनदेखि शाही शासनसम्मले जनताको आन्दोलनको अगाडि घुँडा टेक्नु प¥यो । आज जनताको जीउ धनको सुरक्षाको अनुभूति भएको छैन । विस्तारै जनताको मनमा राजनीतिक दल र तिनका नेताहरुप्रति वितृष्णा फैलिँदै छ । यसलाई गहिरोसँग नियालेकी देवकी लेख्नुहुन्छ –
तिमीले जति निमोठे पनि पलाउँछन् एकदिन
र यी पाखुराले परिश्रम फलाउँछन् एकदिन
जब अन्याय र अत्याचार सीमा नाघ्छ सरकार
जतनाले सिंहदरबार जलाउँछन् एकदिन ।

हो, जनताको आक्रोसलाई कसैले रोक्न सक्ने छैन । अहिलेको शासन व्यवस्था जनताले नै ल्याएका हुन् । शासकहरुले सेवक बन्न आवश्यक छ । नत्र भोलि तिमीहरुलाई नै जनताले फेरि पाखा लगाउने छन् भन्ने कुरालाई राम्रोसँग बुझ्न आवश्यक छ । सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानको प्रकाशन निकै कलात्मक रुपमा सजिएको आवरण, मीठो शुभकामना दिनुहुने डा. घनश्याम परिश्रमी । आहा ! यस्ता यथार्थपरक, परिवर्तनको मियो बन्ने रचनाहरु पढ्ने अवसर जुरिरहोस् । कर्णाली साहित्य समाजका उपाध्यक्ष देवकी तिमल्सिना ‘समीक्षा’ लाई धेरै धेरै बधाई अनि छुटेका सपनाहरु भेट्न सकियोस् कृतिको सफलताको शुभकामना ।
अन्तमा, यत्ति भन्छु –
निमोठिएर पलाउनु पर्ने दिन नआओस्
कम्यूनिष्ट शासन ढलाउनु पर्ने दिन नआओस्
हेर एकपटक घाइते र अपाङ्गहरुलाई हेर
जनताले सिंहदरबार जलाउनु पर्ने दिन नआओस् ।