Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

खुल्यो लकडाउन बढ्यो सङ्क्रमण, यसरी रोकौँ कोरोना अतिक्रमण

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ चैत ९ गतेको निर्णयअनुसार मिति २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन मिति २०७७ साउन ६ गते मध्यरातपछि अन्त्य भएको छ । निरन्तर लामो समय भएको लकडाउन खोल्न उद्योगी, व्यवसायी तथा सर्वसाधारण नागरिकहरूबाट समेत सरकारलाई दिइएको दबाबका कारण मन्त्रिपरिषदबाटै निर्णय गराएर सरकारले सुरक्षित आवतजावत तथा विविध गतिविधि सञ्चालन गर्न अनुमति दिएको हो ।

लक्ष्मणप्रसाद खतिवडा

यसका साथै आर्थिक रूपमा ठप्प भएको मुलुकलाई थोरै भए पनि चलायमान गराएर राजस्व संकलन गर्ने सरकारको उद्देश्य समेत रहेको देखिन्छ । निरन्तर गरिएको लकडाउनको कारण घरमै बस्न बाध्य हामीलाई लकडाउन अन्त्यले राहतको महसुस त गराएको छ तर यसको महामारीले थप संक्रामक रूप लिन थालेकोले हामीलाई थप त्रस्तसमेत बनाएको छ । अहिले लकडाउन खुलेसँगै हामी वरपर जान पाएका छौँ । आफन्त तथा नातेदारलाई भेट्न पाएका छौँ । आफ्नो व्यापार–व्यवसाय गर्न तथा काममा जान पाएका छौँ । तर पनि महामारी अन्त्य भइनसकेकोले हामी सचेत हुन जरुरी छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दिन–प्रतिदिन बढिरहेको देखिन्छ । अब त सङ्क्रमितको संख्यामा कमी आउला भन्ठानेका हामीलाई संक्रमितको संख्या बढ्दै गएबाट चिन्तित तुल्याउन थालेको छ । यसरी दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वृद्धि हुनु हाम्रो लागि पक्कै सुखद पक्ष होइन । सरकारले जारी गरेको निर्देशन पालना नगरी यत्रतत्र आवतजावत गर्दा हामीले त दुःख पाएका छौँ नै अनाहकमा परिवार र समाजमा समेत संक्रमण बढी पीडित हुनु परेको छ । कोरोना सङ्क्रमण हुन नदिन आफैले ध्यान दिनुपर्ने वर्तमान अवस्थामा हेल्चेक्¥याइँ गर्दा समस्या झन् जटिल बन्न पुगेको देखिन्छ । त्यसैले सामान्य नियमहरुलाई बेवास्ता गर्दा हाम्रै लागि हानी पुगी समुदाय स्तरमा सङ्क्रमण बढेसँगै कतिपय स्थानमा निषेधाज्ञा नै जारी गर्नुपरेको छ ।

मुलुकको अर्थतन्त्र चलायमान बनाउन र जनजीविका सहज तुल्याउन लकडाउन अन्त्य भए पनि कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी गरिएका अन्य व्यवस्था कायम नै रहेका छन् । कोरोना सङ्क्रमणको जोखिम अझै रहेकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न विज्ञहरुले सुझाए पनि त्यो लागु हुन सकेको छैन । हाल मानिसहरू असुरक्षित रूपमा सार्वजनिक स्थलमा भीडभाड गरिरहेकाले सङ्क्रमण बढिरहेको देखिन्छ । चैत्र ११ गते लकडाउन सुरु हुँदा जम्मा दुई जना सङ्क्रमित रहेका थिए भने हाल सङ्क्रमण देशैभर फैलिइ सङ्क्रमितको संख्या १९ हजार भन्दा बढी भै सकेका छन् । अब पनि आफै सचेत नहुने हो भने भोलि सङ्क्रमणले हामीलाई थप पिरोल्ने नै छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको कारण विश्वभर ६ लाख ५० हजारभन्दा भन्दा बढी व्यक्तिहरूको मृत्यु भइसकेको छ । यो भाइरसबाट करिब २ करोड जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये करिब १ करोड जना संक्रमणबाट मुक्त समेत भएका छन् । जनस्वास्थ्यविद्का अनुसार मानिसहरू जति धेरै हिँडडुल गर्छन् त्यति नै रोग सर्ने सम्भावना बढी हुन्छ । त्यसैले यसको नियन्त्रणको लागि हालसम्म कुनै खोप तथा औषधि विकास नभएकाले सचेतनाबाटै नियन्त्रण गर्नुपर्नेछ ।

सङ्क्रमण फैलिन नदिनका लागि हामीले भीडभाड नगर्ने, कम्तिमा एक मिटरको दूरी कायम गर्ने, माक्स लगाउने, साबुन पानीले बारम्बार हात धुने, स्यानिटाइजर लगाउने, खोक्दा तथा हाच्छ्यूँ गर्दा कुहिनाले मुख छोप्ने गर्नुपर्दछ । भाइरस शङ्का लागेमा नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गर्नु उचित देखिन्छ । हुन पनि कोरोना सङ्क्रमण छ कि छैन भनेर निश्चित गर्न परीक्षणको आवश्यकता पर्दछ ।

लकडाउन हटाइए पनि महामारी सकिएको छैन । हालसम्म कुनै प्रकारको खोप या औषधिहरूको विकास भइनसकेको अवस्थामा यसको रोकथाम र नियन्त्रणको भौतिक दूरीको पालना गरी सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ । सरकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सल्लाह सुझावहरूको अनुसरण गर्नुपर्दछ । सङ्क्रमण आफै घट्दैन सरकारको उचित प्रयत्न र आमनागरिकको सावधानी जरुरी हुन्छ । अझै वृद्धवृद्धा वा जोखिम समुहमा रहेकाले त झन् बढी ख्याल गरी सम्भव भएसम्म घरबाहिर जानु हुँदैन ।

हुन त साउन १५ बाट होटल तथा पर्यटन व्यवसाय खुलिसकेका छन् । अझै भदौ १ गतेबाट लामो दूरीका सवारीसाधन, विद्यार्थी भर्ना, परीक्षा, हवाई उडान खुल्ने नै छन् । जसबाट मानिसहरूको आवागमन र जमघट बढ्ने नै छ । त्यसैले हामीले स्वास्थ्य सावधानी नअपनाउने हो भने सङ्क्रमित व्यक्तिबाट धेरैमा संक्रमण सरी जोखिम हुने हुनाले उचित सतर्कता अपनाउनै पर्छ । घटना र विचार