Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

अन्तिम सहारा आफ्नै थातथलो

सानोबाट ठूलो हुनु, गरिवबाट धनि हुनु, तलबाट माथि जानु, वरबाट पर जानु, अशिक्षितबाट शिक्षित हुनु, छोरो हुँदै बुवा हुनु, छोरी हुँदै आमा हुनु, अज्ञानताबाट ज्ञानी बन्नु लगायतका विषयवस्तुबाट प्रस्ट हुन्छ कि कुनैपनि चिज वस्तु शुरुवाती चरण सामान्य नै हुन्छ । सामान्य चरण भनेको कसैको चाख लाग्दो चरण भने होइन । सामान्यबाट नै जटिलतातिर उन्मुख भएका हुन्छन् । आगो पनि झिल्कोबाट नै शुरु भएको हुन्छ र पछि ज्वाला बन्छ ।


पानी पनि थोपा–थोपाबाट नै सागर बन्छ । संसारमा सबै कुराहरुलाई हेर्ने हो भने त्यसको अंकुरणलाई त्यति महत्वसाथ हेरिदैन । पुतली ह्वात्तैै पुतली बनेको हुँदैन । उसले पनि हरेक आफ्ना चरण पार गरेपछि मात्र ऊ पुतलीमा परिणत हुन्छ र सबैले पुतलीको रुपमा देख्छन् । तर, पुतली कसरी बनेको उसको विगत कसैले कोठ्याउँदैनन् । यो एउटा उदाहरण मात्र हो । यहाँ भइसके पछि मात्र धेरै चिजको थाहा हुन्छ । कसरी भएको हो त्यसको चर्चा परिचर्चा भएको पाइँदैन ।

विश्वलाई नै संत्रासको बनाउने धेरै चिजबस्तुहरु छन् । विश्वमा मानव जगतलाई आतङ्कित धेरै चिजवस्तुले बनाएका हुन्छन् बेलाबखतमा । कहिले काँही मानवलाई मानवले नै आतङ्कित बनाएको हुन्छ । भने केही परजीवीले मानवलाई सताइरहेका हुन्छन् । मानवलाई हरेक चुनौती सामना गर्नुपर्ने धेरै परिस्थितिहरु सृजना बेलाबेला भइरहन्छन् ।

गतवर्ष मात्र छिमेकी राष्ट्र चिनबाट अहिलेसम्मकै खतरनाक नोभेल कोरोना भाइरस (कोभिड–१९) देखाप¥यो । र, लगत्तै संसारभर महामारीको रुपमा फैलियो । मावन जातीलाई ध्वस्त बनाउने यो भाइरस हेर्दा सामान्य तर त्यत्तिकै खतरा पनि देखियो । यसले नराम्रोसँग आफ्नो संक्रमण फैलाइरहेको छ । सहजरुपले मानवलाई आक्रमक गर्ने र छिटै ज्यान समेत खतरामा पु¥याउने यस भाइरसको संक्रमणका कारण संसार भयवित भएको छ ।

विश्वका धेरै राष्ट्रमा कोभिड–१९ को संक्रमण भइरहँदा त्यसको (संक्रमण) प्रभाव नेपालमा पनि २०७६ माघ महिनामा देखाप¥यो र धेरै व्यापक नभई त्यस समयमा सो संक्रमण त्यत्तिकै सेलायो । त्यसको दुई महिनापछि २०७६ चैत्रको पहिलो हप्ताबाट यस भाइरसको संक्रमण केही फरक तरिकाबाट देखियो । र, संक्रमण भए लगत्तै नेपालमा अन्य देशको झैं सम्पूर्ण गतिविधि बन्द भए । नेपाल सरकारबाट चैत्र ११ गतेदेखि मुलुकमा घोषित लकडाउन (बन्दाबन्दी) गरियो । जो अनिश्चित बन्दै साउन २५ गतेसम्म अर्थात १२० दिनको दिन सरकारले लकडाउनका केही शर्तहरुसहित अन्त्य ग¥यो । तर, भाइरसले भने दिनानुदिन मानिसलाई संक्रमित बनाउँदै लगिरहेको थियोे र छ ।

जब नेपालमा लकडाउन (बन्दाबन्दी) शुरु भयो । तब मानिसमा एक किसिमको नयाँ तरङ्ग पैदा भयो । मानिसलाई बाहिर काहिँ कतै जान नमिल्ले गरि गरिएको लकडाउनका कारण विशेषगरि सहरी क्षेत्रहरुमा यसको असर धेरै देखियो । समृद्ध जिवनको खोजीमा हिडेकाहरुलाई लकडाउनको जिन्दगीले आफ्नो गाउँको याद आउने परिस्थितिको श्रृजना ग¥यो । मानिसहरु अन्तरदेशीय रुपमा होस् वा विदेशबाट गाउँ छिर्ने क्रममा नै किन नहोस् दिन दुइ गुणा रात चौगुणाका दरले बढ्यो ।

कोभिड–१९ को संक्रमण हुनुभन्दा अगाडि गाउँको नाम त कहाँ हो कहाँ गाउँबाट कोही मान्छे सहर बजारतिर आयो भने पनि उनीहरुमा हेर्ने दृष्टिकोण सौतेलोभन्दा कम हुँदैनथ्यो । बजारमा बस्नेहरु गाउँमा बस्नेहरुलाई उल्कै विभेद गर्ने गर्दथे । अप्रत्याशित रुपमा आएको यो भाइरलको ज्वारभाटाले मानिसहरुलाई सहरबाट गाउँतिर (आफ्नो थातथलो) यसरी तान्यो कि मानिसहरु रोजगारी छोडेर भोकभोकै भएपनि झिटिगुन्टा बोकेर बालबच्चालाई लतार्दै गाउँ पुग्न बाध्य भए । अनि उनीहरुमा गाउँको मोह पनि बढ्न थाल्यो ।

गाउँ विकसित भयो भने के हुन्छ ? बजार कसरी हुन्छ ? बजारको शुरुवात कसरी हुन्छ ? के एक्कासी बजार भयो होला ? बजारको पुरानो स्वरुप के हो ? उनीहरुले कहिल्यै सोचेनन् । गाउँमा बस्नेलाई उल्टै हेप्ने, उनीहरुलाई नराम्रो व्यवहार गर्ने, तुच्छ भाषा प्रयोग गरि अपहेलित गर्ने जस्ता कामहरु गर्न पछाडि नपर्नेहरु गाउँ खोज्दै जान थालेपछि भाइरस नियन्त्रणमा लागेका निकायहरुलाई उनीहरु र गाउँमा रहेका मानिसहरुलाई सुरक्षित राख्न हम्मे हम्मे प¥यो ।

उपचार र सुरक्षाका लागि बनाइएका क्वारेन्टाइन र कोभिड उपचार गर्ने अस्पतालहरु भरिएर टनाटन हुन थाले । सामाजिक दुरी कायम राखेर सरसफाइमा ध्यान दिइ उपचारमा बस्नुपर्ने यो संक्रमण सित लड्न सरकारका तीनै निकायले बनाएका नीति, नियम र सुरक्षित स्थलहरुसँगै दक्षिण तिरको नेपाल भारत सीमा नाका नराम्ररी प्रदूषित भयो । ‘कही नलागेको डुङ्गा बाउताल गइ लाग्यो’ भन्या जस्तै कहिल्यै नचाहिएला जस्तो गरिने गाउँ नै मर्ने बेलामा खोजी खोजी पुग्नु प¥यो ।

यो घटनाले अप्ठेरो पर्दा आफ्नै जमिनको माटो सम्झेर मान्छे पुग्छ भन्ने भनाइलाई पुष्टी गरेको छ । वीपी कोइरालाको भनाइ ‘अप्ठेरो पर्दा एकमुठी माटो समातेर त्यसलाई सोध्नु त्यसले जे भन्छ त्यहि निर्णय गर्नु’ भन्ने भनाइ यसपटकको कोरोना महामारीले प्रमाणित गरेको छ ।

यसको सारतत्व भनेको आफ्नो भन्ने आफ्नै हुन्छ भन्ने हो । हामीले आफ्नो प्रदेशलाई विकसित बनाउन सक्यौ भने रोजगारीका लागि पराइको मुलुुकममा जानै पर्दैन । आफ्नै प्रदेशमा अन्नदेखि फलफूल फलाउन सक्यौ भने अरुको भर पर्नुपर्दैन । कर्णालीमा के छैन ? खानीदेखि खनिजसम्म, पानीदेखि जमिनसम्म । प्रकृतिले दिएका उपहारलाई आधुनिक ढंगले ग्रहण गर्न आवश्यक छ । त्यसपछि न कर्णालीमा भोकमरीको समस्या हुन्छ न रोजगारीको । त्यसका लागि सरोकारवालादेखि आम नागरिकहरु जाग्न जरुरी छ । हामी आधुनिक युगमा छौ भनेर मात्र हुँदैन आधुनिकतालाई प्रयोग गर्न सक्नुपर्छ । अनि मात्र कर्णाली समृद्ध बन्न सक्छ । कर्णालीमा कृषि क्षेत्रमा गर्न सकिने क्रान्ति, आर्थिक उन्नतीका लागि गर्न सकिने क्रान्ति, अनि पशुपालनमा गर्न सकिने क्रान्तिहरुको अथाह सम्भावना छ । हामी सम्भावनाको नारा मात्र लगाउँछौ । तर त्यसलाई व्यवहारमा उतार्न किन सक्दैनौं ? जसरी आफूूलाई समस्या परेको बेलामा आफ्नो भूगोल याद आयो त्यसरी नै आफ्नै भूगोललाई सिंगारौं अनि समृद्ध कर्णाली र सुखारी कर्णालीवासीको नाराले सार्थकता पाउँला कि ।