Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

मात्तिएको सत्तापक्ष र बरालिएको प्रतिपक्ष

नेपालको इतिहासमा खुबै चलेको उखान हो ‘जाइ कटक नगर्नु, झिकी कटक गर्नु’ । यो उखानले पनि नेपालीको व्यवहारलाई सहजै पुष्टि गर्दछ । ‘नविराउनु नडराउनु’ त्यसै भनिएको होइन । नेपालीहरु अरुको बिराउन जान्दैनन् र डराउँदैनन् भन्ने कुरालाई नेपाल एकिकरण गर्दाका बखतदेखि नै पुष्टि गर्दै आइरहेको परिप्रेक्षमा पछिल्ला दिनहरुमा साँच्चिकै ती शब्दहरु उखानमै सिमित हुन पुगे ।

रतन बहादुर शाही

देशमा भएका विभिन्न राजनीतिक आन्दोलन तथा मोर्चाहरुबाट विभिन्न परिवर्तनहरु भए । जहानियाँ राणा शासनदेखि शाही शासनसम्मले नेपाली जनताका अगाडि हार खानु प¥यो । नेपाली जनताले साथ र सहयोग गरेका कारण मात्र राजनीतिक परिवर्तनहरु सम्भव भएका हुन भन्ने कुरालाई वर्तमानमा सत्ताको स्वाद चाखिरहेका महासयहरुले बुझ्नु जरुरी छ । १० वर्षे जनआन्दोलनमा जनताले साथ नदिएको भए आज पनि प्रचण्ड जंगलमै कतै लुकामारी गरिरहेका हुन्थे होला । ज्ञानेन्द्र शासन सम्हालिरहेका हुन्थे होला । नेपालको सार्वभौम शक्ति सम्पन्न जनता हुन् भन्ने कुरालाई वर्तमान शासकहरुले बुझ्नु जरुरी छ ।

कुनै समयमा हिटलर जस्तो नाताशाहीले पनि जनताका अगाडि घुँडा टेक्नु परेको थियो । विश्वका विभिन्न देशमा भएका बादशाहहरुको राजनीतिक जीवन धुलोमा मिलेका धेरै देशका इतिहासहरु साक्षी छन् । जुन नेपाली राजनीतिमा पनि इतिहासका पानामा लेखिएका छन् । हुन त भनिन्छ ‘इतिहास जित्नेकै लेखिन्छ’ । अलिखित इतिहास जनश्रुति हुँदै जन–जनका मनमा लेखिएको शासकले पत्तै पाउँदैनन् । विगतलाई बिर्सेर वर्तमानमा रमाइरहेका शासकहरुले सेवक बन्ने आँट किन गर्दैनन् ? भोटको लागि जनताका पाउमा पर्नेहरु भोट प्राप्ति पछि जनता माथि शासकको रुपमा देखा पर्ने प्रवृत्तिको अन्त्य कहिले हुन्छ ? जबसम्म त्यो प्रवृत्तिको अन्त्य हुँदैन तबसम्म हामी नेपाललाई समृद्ध बनाउँछौ भन्नु नेपाली जनतालाई ललिपप देखाएर आफू सत्ताको स्वादमा रमाउने बाहेक अरु कुनै उद्देश्य छैन भन्ने कुरा नेपाली जनताले बुझ्न अब धेरै समय लाग्नेछैन ।

कुनै समयमा दुईतिहाइ प्राप्त गरेको काँग्रेसले नेपालमा बहुदलिय प्रजातन्त्रको पुर्नस्थापना पश्चात पनि दुई – दुई पटक बहुमतको सरकार निर्माणको धेरै समय भएको छैन । आफ्नै नेतामाथिको अविश्वास र आफ्नो कार्यकर्ता माथिको धोकाका कारण काँग्रेस प्रतिपक्षको भूमिका बरालिनु परेको छ । विरोध गर्ने अनेक तरिकाहरु छन् । तर त्यसलाई अपनाउनुको साटो हिजोका एनेकपा माओवादीको सिको गरेर नेपाली जनताको पसिनाबाट आर्जित सम्पत्तिलाई तोडफोड गर्नुपर्छ भन्ने विचार कहाँबाट आयो ? वर्तमान लुम्बिनी प्रदेशका काँग्रेसीहरुमा ।

के विपीले यही सिकाएका थिए ? के विपीको विचार यही थियो ? कि विपीको विचार र सिद्धान्तलाई अध्ययन नै नगरेका काँग्रेसीहरु त्यो वितण्डामा उत्रिएका हुन् र ? आज काँग्रेस समर्थकहरुले यसको जवाफ दिनुपर्छ । उग्रवामपन्थी भड्काउमा लागेकाहरुले होइन मेलमिलापको नीतिबाट प्रेरित भएकाहरुले पनि यसको जवाफ खोजिरहेका छन् ।

हुन त सत्य बेचेर शक्ति र सत्तामा रुमलिने मेरो देशका राजनीतिक दल र राजनेता कोही भन्दा कोही पनि कम्ति कहाँ छन् र ? तथापी प्रदेश नं. ५ को राजनीति र प्रदेशको नामाकरण गर्ने विषयलाई लिएर सदनमै देखिएको हाँडी गाउँको जात्रा हेर्ने हो भने सायद कसको मन खिन्न नहोला र ? संसद र सदनको मर्यादा बिर्सेर मर्यादा मिच्ने केही प्रतिपक्ष दलका सांसदहरुले मूलतः पहिलो कुरा आफू नेपालको इतिहासमा नेपालकै भाग्यरेखा कोर्ने जननायक विपी कोइराला, सन्तनेता कृष्णप्रसाद भट्टराई, सादगी जीवन विताएर भएपनि प्रत्येक नेपालीको हातमा नेपालको संविधान थमाउन सफल वर्तमान संविधानका पिता सुशील कोइराला जस्ता महान हस्तीहरुले नेतृत्व गरेको पार्टी भित्रका मान्छे हुँ भन्ने कुरा बिर्सनु पहिलो मुर्खता हो । अझैँ भन्ने हो भने राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो मूल नारा सम्झने लोकतान्त्रिक पार्टीका सांसदहरुले जंगली व्यवहार देखाउनु अझँै लाजमर्दो कुरा हो । विरोध गर्नु पर्छ भन्दैमा मुर्खहरुसँग आफूपनि पटमुर्ख हुनु त्यत्तिको उचित हुँदैन थियो कि ?

हुन् त यस्तो घटना नेपालमा पहिलो पटक मात्र घटेको कहाँ हो र । दोस्रो संविधान सभाको निर्वाचन पश्चात हाल सत्ताको मातमा मात्तिएका तत्कालिन एनेकपा माओवादीका सांसदहरुले संविधान सभामै जंगली व्यवहार देखाएको पनि यसै आँखाले नदेखेको पनि कहाँ हो र ? तर त्यस बेलाको सत्तापक्षले ‘घिसारेर बाहिर निकाल्नुहोस्’ जस्ता अपमानित शब्दहरु बोलेको यो कानले सुनेको थिएन । तर यो पटक त्यो शब्द पनि सुन्न पाइयो । धन्यवाद छ प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूलाई । भनिन्छ, ‘भैग्यांै भनेर नमात्तिनु, गैग्यौं भनेर नआत्तिनु’ । सत्तामा छौ भन्ने वित्तिकै हिटलर बनिहाल्नु कत्तिको मानविय व्यवहार होला । त्यो त सत्ताको सिंहासनमा विराजमान होइबक्सेको सभामुख ज्यूलाई थाह भयो होला ।

संविधान सभामा तत्कालिन एमाओवादीले देखाएको ताण्डव नृत्यको समयमा सभालाई कसरी नेतृत्व गरेका थिए तत्कालिन सभामुख नेम्वाङले । वर्तमान लुम्बिनी प्रदेशको सभामुखको कुर्सीमा विराजमान सभामुखज्यूले त्यसको आंकलन गर्न नसक्नुमा आज लज्जाबोध भएको होला । एउटा जनजातीकै छोरा नेम्वाङ र घर्तिमा कति फरक रहेछ भन्ने कुराको स्पष्टता भयो । त्यही भएर जात, धर्म, रंग, भेद, धनि, गरिबको कारणले भन्दा पनि ज्ञान, बुद्धि र विवेकको कारणले कार्यशैलीमा फरक पार्दछ । कार्यशैलीकै कारणले समाज रुपान्तरण गर्न सकिन्छ भन्ने कुरालाई ख्यालै गर्न नसक्नेहरुका कारण देशले समृद्धिको द्वार खोल्न अझ कति समय कुर्नु पर्ने हो, जनताले आंकलन नै गर्न सकेका छैनन् ।

खै सदनको मर्यादा राख्न सकेको ? खै सभामुखको जिम्मेवारी र कर्तव्य ? खै प्रतिपक्षको अधिकार ? सत्तापक्ष हुँदैमा जसले जे पनि बोल्न मिल्छ, ‘आफ्नो हात जगनाथ’ गर्न मिल्छ ? त्यो त हामी जस्तो सर्वसाधारणले सिकाइरहनु पर्दैन होला । आफूलाई विश्वकै ठूला कम्यूनिष्ट हौं भन्ने ठानेका हाम्रो देशका हाल सत्तामा रुमलिएका सत्तापक्षले पनि सदनमै गैरजिम्मेवारी शब्दको प्रयोग गर्ने आँट पनि किन नगरुन् । तथापी सत्तापक्ष वा प्रतिपक्षले हामी कानूनी राज्य भित्रका मान्छे हौ भन्ने कुरालाई नबिर्सने कि ? अन्ततः प्रदेश नं. ५ को विषयलाई लिएर सत्तापक्ष वा प्रतिपक्ष दुबैले हदैसम्मको लचकता अपनाएर राजधानी र नामको विषयलाई टुङ्ग्याउनुका साथै सम्पूर्ण जनमानसमा जंगली लडाईले भन्दा पनि वैचारिक लडाईले जितिन्छ भन्ने कुराको चेतना फैलाउन आवश्यक छ ।

यो त नेताहरुको चाला र चरित्रको कुरा भयो । नेपाली जनताको सम्पत्तिलाई विनाश गर्नेले कसरी उन्मुक्ति पाउने ? हिजोका दिनमा एमाओवादीका नेताहरुले मच्चाएको वितण्डामा कसैलाई कारवाही नगर्दाको परिणाम आज प्रदेश ५ मा देखियो । भोलि अन्य प्रदेशमा देखिएला । के उनीहरु बाघ हुन् ? उनीहरुलाई कसैले केही गर्न सक्दैनन ? उनीहरुलाई कानून पनि लाग्दैन ? त्यसो हो भने उनीहरु संविधान भन्दा माथि छन् ? होइन भने हिजो संविधान सभामा कुर्सी भाँच्नेदेखि आज प्रदेश ५ मा टेबल भाँच्नेसम्मलाई नेपाली जनताले थाह पाउने गरि कारवाही हुनुपर्छ । अन्यथा फेरि निर्वाचन हुन्छ, हेक्का रहोस् ।