Loading... आजः १ जेष्ठ २०८१, मंगलवार । Tuesday 14th May 2024

दसैँमा लगाइने बहुउपयोगी जमरा सेवन गर्नु कतिको लाभदायक ? यसो भन्छन् पोषणविद्

शर्मिला पण्डित

काठमाडौं ।

हिन्दुहरूको महान् चाड दसैँमा जमरा र टिकाको विशेष महत्त्व हुन्छ । जौ र गहुँ उमारेर तयार पारिएको जमरा अनि टिकाले दसैँको छुटै रौनक दिने गर्छ । टिका र जमरा लगाउन, आर्शिवाद थाप्न देश विदेशबाट सबैजना आफनै पुर्खौली गाउँ फर्किन्छन्। जमरासँगै आर्शिवाद जोडिएकाले पनि जमराले छुटै महत्त्व बोकेको छ ।

दसैँको घटस्थापनाको दिन राखिएको जमरा ९ दिनपछि दशमीको दिन प्रसादको रूपमा लगाउने गरिन्छ । ९ दिन सम्म विविध पूजाआजा गरी निकालिएको पहेँलो जमरा लगाइन्छ । दसैँको समयमा मात्रै राखिने जमरा आजभोलि जुनसुकै सिजनमा पनि उमार्ने गरेका छन् ।

पछिल्लो समय जमरालाई पेलेर जुसको रूपमा सेवन गर्ने बढ्दो कम्रमा रहेको छ । बल्डप्रेसर, सुगर लगायतको रोग निको हुने भन्दै जमराको जुस सेवन गर्नेको सङ्ख्या बढ्दै गइरहेको हो ।

जमरालाई पेलेर बनाइएको जुसको माग पनि बजारमा बढ्ने क्रममा नै छ । जुसले ब्लड प्रेशर,अनिन्द्रा,मोटोपन, थायराइड लगायतका रोग नियन्त्रण हुन्छ भन्ने विश्वास गर्ने गर्छन् । यसरी जमराको प्रयोग बढ्न थालेपछि कतिपयले व्यावसायिक रूपमा जमरा उम्रारेर जुस विक्री वितरण गरिरहेका छन् ।

तर स्वास्थसगँ जोडिएको यी जमराबाट उत्पादन गरेको जुसको गुणस्तरबारे स्वास्थ्य मन्त्रालयको ध्यान गएको छैन । जमरा पेलेर जुस बेच्ने व्यापारीहरू भने यसले क्यान्सर जस्ता घातक रोग ठिक हुने भन्दै प्रचार गरिहरेका छन् ।

जथाभाबी बेच्न राखेको जमराको जुसको गुणस्तर, कसरी उत्पादन गरिएको हो ?, उत्पादन गर्ने ठाउँ कतिको सफा छ ?, भन्ने तिर प्रयोगकर्ताहरुले समेत ध्यान दिएको छैन । साथै अनुगमन पनि भएको देखिँदैन । यसले अन्य कुनै जटिल रोग ल्याउने हो कि यसको सेवन गर्दा के कस्ता असर पर्छ ? भन्ने बारेमा कुनै पनि खोज अनुसन्धान भएको छैन । हल्लाको भरमा यसको प्रयोगकर्ता बढ्दै गइरहेको पोषणविद्हरू बताउँछन् ।

के भन्छन् जमराको जुस बेच्ने व्यापारी ?

काठमाडौँको माकलबारीमा झन्डै ३ वर्षदेखि जमराको जुस विक्री गरिहरेकी सीता भट्टराईले जमराको जुसको माग बढेसँगै कतिपय व्यापारीले यसको गुणस्तरमा ध्यान नदिएको बताउँछिन् ।

जमरा उर्मादा बिउँ अर्ग्यानिक हुनुपर्ने दाबी उनको छ । जमराको जुसले आफूलाई थायराइडको रोग निको भएको बताउँदै पछि आफूले व्यावसायिक उत्पादन गर्न थालेको बताइन् ।

‘आफू जस्तै रोगीलाई पनि ठिक हुन्छ भनेर मैले उत्पादन सुरु गरेको हो,’ उनले जीएनएनसगँ भनिन् ‘जमराको जुसको सेवनले कुनै एक रोगको नभई पुरै शरीरको लागि लाभदायक हुने, आखाँ कम देख्नेको लागि आखाँ तेजिलो देख्ने, चस्मा लगाउन नपर्ने, टाउको दुखेको कम गर्ने, ठिक बनाउने छ ।’ यसको सेवनले मोटोपन घटाउनु साथै निद्रा नलाग्ने रोगको लागि झनै उपयुक्त  हुने उनले बताइन ।

यसले विशेष गरी थायराइड, माइग्रेन, जस्ता रोगलाई लाभदायक हुने, प्रेसर हाइलाई नर्मल बनाउन मद्दत गर्ने उनी बत्ताउँछिन् ।

‘हामीले अब दसैँको बेला मात्रै लगाउने जमराको महत्त्व बुझेको रहेनछौ, यसको औषधी बारे थाहा थिएन ।’ उनले भनिन्,‘विदेशमा त यसको पाउडर समेत बनाएर बेच्छ हामीले त भर्खर यसको महत्त्व बुझेका छौ ।’

पोषणविद् भन्छन्, जमराको जुसलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत पोषण विभागका प्रमुख केशव पराजुलीले जमराको जुसको तथ्यगत कुराहरू वैज्ञानिक आधारले पुष्टि नभएको बताए । जमराकै जुस खाएर रोग निको हुन्छ भन्नु गलत हो उनले बताए ।

‘वैज्ञानिक आधार छैन, वैज्ञानिक आधार नभएको कुराहरू हामीले भन्नै मिल्दैन,’ उनले जीएनएनसगँ भने,‘हामीले प्रमाणित गरेर देखाउन पर्छ, त्यसका लागि अनुसन्धान गर्नुपर्छ, परीक्षण गरेर पास भए मात्रै यसलाई वैज्ञानिक रूपमा मान्न सकिन्छ । बजारमा हल्ला हामीले पनि सुनेका हौ क्यान्सर ठिक हुन्छ भन्ने तर प्रमाणित भएको छैन ।’

पोषण विभागका प्रमुख पराजुलीका अनुसार नेपाल सरकारबाट जमराको जुसको कुनै पनि अनुसन्धान भएको छैन, तर हुनुपर्ने हो । प्रयोगकर्ताहरूलाई राम्रो भएको छ भने त्यो उहाँहरूको कुरा हो । हामीले भन्न मिल्दैन ।

तर जमराको जुसमा भने पोषण तत्त्वले भरिएको भण्डार हुन्छ । त्यसो भन्दैमा रोग ठिक हुन्छ भन्दै प्रचार गर्नु गलत भएको उनले बताए ।

जमराको महत्त्व झनै बढाउँछ : संस्कृतिविद्

संस्कृतिविद् डा .जगमान गुरुङ भन्छन्, जमरा औषधीको लागि हो । दसैँमा जमरा नलाउने मान्छेहरूले पनि यसको महत्त्व बुझेर जमरा उमारेर जुस खाने गरेका छन् ।

उनका अनुसार हामीले दसैँमा मात्र जमरा को प्रयोग गर्ने गर्थ्यो तर यसको महत्त्व बिस्तारै बढ्दै गएको छ । यसले हाम्रो संस्कृतिमा कुनै प्रभाव पर्दैन ।

जिएनएननेपालबाट साभार सामाग्री