Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

जुर्मुराउदै सुर्खेतको फुटबल

सुर्खेत ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभीड १९ को प्रकोपका कारण ठप्प प्रायः बनेको सुर्खेतको फुटबल अब जुर्मुराउन थालेको छ । लामो समय प्रतियोगिताविहीन अवस्थामा रहेको सुर्खेतमा जिल्ला फुटबल संघको आयोजनामा मेयर कप पुरुष फुटबल, उपमेयर कप महिला फुटबल र जिल्ला लिग फुटबल प्रतियोगिता आयोजनासंगै जिल्लामा फुटबल गतिविधि जुर्मुराउने भएको हो ।


वीरेन्द्रनगर नगरपालिकासंगको समन्वयमा मेयर कप फुटबल प्रतियोगिता यहि फागुन १९ गतेदेखि र एन्फाको क्यालेण्डर अनुसार जिल्ला लिग आगामी चैत ७ गतेदेखि शुरु हुने भएका हुन । वडास्तरीय मेयर तथा उपमेयर कपका लागि टिम दर्ताको समय फागुन १५ गतेसम्मको अवधि र टिम दर्ता शुल्क ३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी पहिलो चरणको जिल्लास्तरीय लिग चरणका लागि टिम दर्ताको अन्तिम मिति फागुन २९ गतेसम्म र टिमदर्ता शुल्क ५ हजार १ सय तोकिएको छ ।

‘यस पटकदेखि जिल्ला लिग दुइ चरणमा हुनेछन ।’ सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेश कार्कीले भन्नुभयो, पहिलो चरणमा लिग र दोश्रो चरणमा नकआउट ।’एन्फाको नयाँ प्रतियोगिता नियमावली बमोजिम अब जिल्लास्तरीय लिगमा पनि अंक तालिकाका पुछारमा रहने दुई टिम रेलिगेशनमा पर्ने र आगामी लिगमा फेरि प्रतिष्पर्धा गर्नुपर्ने महासचिव कार्कीले जानकारी दिनुभयो । संघले मेयर कप सञ्चालनका लागि उपाध्यक्ष प्रभात थापाको संयोजकत्वमा कर्णबहादुर चन्द, रमेश तुलाधर, सुन्दर पोखरेल र महेन्द्र चौधरी रहेको प्रतियोगिता सञ्चालन समिति बनाएको छ ।

यसैगरी लिगका लागि उपाध्यक्ष चन्द्रकुमार श्रेठको संयोजकत्वमा र उपमेयर कप सञ्चालनका लागि सदस्य सुन्दर पोखरेलको संयोजकत्वमा समिति बनाइएका छन । महासचिव कार्कीको संयोजकत्वमा बनाइएको प्रचार प्रसार समितिमा उपमहासचिव शरद भण्डारी र खेलकुद पत्रकार मञ्चका अध्यक्ष भानुभक्त अधिकारीलाई राखिएको छ । यसैगरी कोषाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा भोला रोका र कृष्ण खड्का सहितको आर्थिक समिति बनाइएको छ भने उपाध्यक्ष प्रमोद हमालको संयोजकत्वमा जुरी समित गठन गरिएको छ ।

रेफ्री समितिका लागि सदस्य जानुका तारुंग र फिल्ड व्यवस्थापनका लागि प्रशिक्षक नवीन भण्डारीको संयोजकत्वमा समिति बनाइएको महासचिव कार्कीले जानकारी दिनुभयो ।