Loading... आजः ८ भाद्र २०८३, सोमबार । Monday 24th August 2026

बाँचौ र बचाऔं अभियानमा लागौ

यतिबेला कोरोनाको दोस्रो लहर फैलिरहेको छ । दिनानुदिन कोरोना संक्रमणको दरमा तिब्रता आइरहेको छ । यसलाई रोकथाम तथा नियन्त्रणको लागि सरकारले निषेधाज्ञा जारी गरिसकेको छ । सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुलाई पूरा गर्नु र निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्नु गराउनु नै बुद्धिमानी हुने भएकोले त्यतातर्फ सबै आम नागरिकहरुले सोच्नु पर्ने समय आएको छ । कोरोना महामारीले निम्त्याउन सक्ने सम्भावित खतराबाट बाँचौ र बचाऔं अभियानमा लाग्न जरुरी छ । म मात्र बाँचेर केही हुँदैन मैले अरुलाई पनि बचाउनु पर्छ र अरु मात्र बाँचेर पनि केही हुँदैन म पनि बाँच्नु पर्छ भन्ने भावनाको जागृत गरेर लाग्ने हो भने कोरोनालाई भगाउन त्यति ठूलो कुरा छैन । हुन त तोकिएका केही व्यक्तिहरुले यसको पहिलो तथा दोस्रो र कसैले पहिलो चरणको खोप पनि लगाइसकेका छन् । तर खोप लगाउँदैमा कोरोना लाग्न नदिने होइन भन्ने कुरालाई बुझ्न जरुरी छ ।

कोरोनाको खोप भरखर मात्र विकसित भएकोले यसले गर्ने कार्यका बारेमा अझैँ धेरै अनुसन्धानहरु भइरहेका छन् । अर्कोतिर कोरोनाको खोपले शरिरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्तिको विकास गर्ने मात्र हो । कोरोना लागि हालेको खण्डमा त्यसले जति क्षति गर्ने थियो त्यति धेरै क्षति हुन नदिनु मात्र हो भन्ने कुरालाई राम्रोसँग बुझ्न सकेको खण्डमा मात्र त्यो खोपको अर्थ छ । त्यसैले मानव स्वास्थ्यमा आएको यो संकटको घडीमा केवल अर्काले गरिदेला भन्नु भन्दा पनि अथवा केवल सरकारले व्यवस्थापन गर्ला भनेर कर्तव्यविमुढ भएमा यसबाट हुने क्षतिले एकातिर आफ्नै ज्यान जोखिममा पर्ने र अर्कोतिर आफ्नाहरुको ज्यान जोखिममा पर्ने भएकोेले पनि कोरोनालाई ख्याल ख्यालमा लिएर लापरवाही गर्नु हुँदैन ।

कोरोनाबाट बच्न र बचाउन सरोकारवाला निकायहरु पनि विषेश योजनाका साथ लाग्न आवश्यक छ । छिमेकी देशमा भारतमा जुन संकट उत्पन्न भएको त्यसलाई आंकलेर भएपनि हामीले गर्नुपर्ने पूर्वतयारीहरु गर्नु पर्छ । अक्सिजन उत्पादन, भण्डारण तथा त्यसको व्यवस्थापनमा सरकारले समयमै ध्यान दिन जरुरी छ । अस्पताल तथा अन्य उपकरण कोरोनाका विरामीहरुलाई राख्नका लागि आवश्यक स्थानका बारेमा समेत पूर्व तयार गरेर अगाडि बढ्ने हो भने भोली आउने संकटलाई पनि परास्त गर्न सकिन्छ । अन्यथा एकातिर नागरिकहरुले बेवास्ता गरिदिने र अर्कोतिर सरकारले पनि यो वा त्यो वहानामा कार्यकुशलताबाट विमुख भइदिने अवस्था आयो भने कोरोनाले निम्त्याउने संकटसँग जुध्न सकिदैन । त्यसैले सरोकारवालादेखि आम नागरिकहरु समेत कोरोनाबाट बचौं र बचाऔं अभियानमा लाग्न जरुरी छ ।