कर्णाली प्रदेश सभाः घुम्दै फिर्दै रुम्जाटार भने झैँ फेरी अवरुद्ध
सुर्खेत ।
कर्णाली प्रदेश सभाको बैठक फेरि पनि घुम्दै फिर्दै रुम्जाटार भने झैँ भएको छ । कर्णाली प्रदेशसभाको बैठकमा फ्लोर क्रस गर्ने सांसदहरु प्रवेश गरेपछि एमालेले फेरी बैठक अवरुद्ध गरेपछि प्रदेश सभा रुम्जाटार जस्तै भएको हो । बैठक कार्यसूचीमा प्रवेश नगर्दै एमाले संसदीय दलका नेता यामलाल कंडेलले सर्वोच्च अदालतको आदेश अनुसार उनीहरू एमालेको सांसद भएको बताउँदै प्रदेशसभामा निर्दलीय व्यवस्था शुरू गर्न खोजिएको हो ? भन्ने प्रश्न गर्दै आफ्ना भनाईहरु राख्नु भएको थियो ।
आज बसेको कर्णाली प्रदेशसभाको बैठकमा एमालेबाट निलम्बित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापा सहभागी भएपछि एमालेले आपत्ति जनाएको हो । एमालेले उनीहरूलाई संसदीय काम र कारवाहीमा सहभागी गराउन नपाइने माग गर्दै आएको छ ।
‘वैशाख ३ गते फ्लोरक्रस गरेर संसदीय दलको निर्णयविरुद्ध जाने चारैजनालाई कारवाही एमालेले गरेपनि सर्वोच्चले उनीहरुलाई पुनर्वहाली गरिदिएको भएपनि पुन एमालेले भ्याकेट गरेको छ ।
निर्दलीय व्यवस्थाको चरित्र अंगिकार गर्न खोजिएको भए हाम्रो भन्नु केही छैन भन्दै नेता कँडेलले सभाभित्र जहाँ बसेपनि हुने भन्ने व्यवस्था नभएको बताउँदै दलीय आचरण र व्यवहार सबैले प्रस्तुत गर्नुपर्नेमा जोडदिनु भयो । नेता कंडेलले आफूहरू सर्वोच्चको आदेशलाई चाहेर वा नचाहेर कार्यान्वयनमा गएको बताउँदै तीनजना मन्त्रीहरूले कार्यान्वयन नगरेको बताउनु भयो । ‘सर्वोच्चले जेठ २७ गते अन्तरिम आदेश दिएर एमालेमै चारजनालाई फर्काइदिएको हो । त्यसमध्ये प्रकाश ज्वाला आइसक्नुभएको छ । तीनजना अहिलेसम्म आउनु भएको छैन । हामीले तीन पटक उहाँहरूलाई पत्र पठाइसकेका छौं ’, नेता कंडेलले भन्नुभयो, ‘उहाँहरू आफैं सर्वोच्चमा एमालेकै सांसद हुन पाउँ भनेर जानुहुन्छ । सो माग पूरा भएपछि यहाँ निर्दलीय व्यवस्था जसरी आउनुहुन्छ यसलाई एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन ।’ सभामुख राजबहादुर शाहीले सांसदहरुलाई आसन ग्रहण गर्न पटक पटक अनुरोध गर्दा पनि सभामुख र नेता कँडेलबीच सवाल जवाफ नै चलेको थियो ।
बैठकमा एमालेका सांसदहरू उठेर अवरुद्ध गरेपछि अर्को बैठक असार १८ गते दिउँसो दुई बजे बस्ने गरी स्थगित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । असार १ मा बजेट आएको भएपनि एमालेले बैठक अवरुद्ध गरेका कारण बजेट माथिको छलफल हुन पाएको छैन ।






