Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

बेलैमा सचेत बनौ

विश्वमा फैलिएको कोरोना भाइरसको कारण मानव जीवन नराम्रोसँग प्रभावित भइरहेको छ । यसबाट बच्नका लागि अपनाइने विभिन्न तरिकाहरुका बारेमा सचेत नबन्ने हो भने दुःखद परिस्थितिको सामना गर्नुपर्ने अवस्था आइलाग्न सक्छ । एकातिर मानव जीवन नै अस्तव्यस्त भइरहेको छ भने अर्कोतिर व्यापारदेखि अर्थतन्त्र समेत निकै कमजोर बनिरहेको छ । विश्वका निकै विकसित देशहरुले समेत कोरोनाबाट निकै ठूलो क्षति व्यहोर्नु परेको छ । विश्वमा ५२ लाख ९५ हजार भन्दा बढि मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने नेपालमा मात्रै ११ हजार ५ सय भन्दा बढिले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसका कारण हुने खाने मात्र होइन हुँदा खानेहरुलाई के खाउँ र के लाउँको अवस्था आइलागेको छ । तर हुने खानेहरुलाई खानको समस्या नभएपनि स्वास्थ्यमा हुने समस्याका कारण भने सबैका उस्तै हुन् । रोगले धनि गरिब तथा उँच निच नचिन्ने भएकाले समयमा नै सबै सचेत हुन जरुरीछ ।

कोरोनाको तेस्रो लहरको रुपमा ओमिक्रोन नामक भाइरस फेरी तिब्र गतिमा फैलिरहेको छ । विश्वका विभिन्न शहरहरु यसबाट प्रभावित भइसकेका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरे अनुसार नेपालमा पनि यो भाइरसको संक्रमण देखिएको छ । यस्तो अवस्थामा आम नागरिकदेखि राज्य संयन्त्र समेत बेलैमा सचेत नहुने हो भने फेरी समस्या व्यहोर्नु पर्ने निश्चित छ । यस्तो अवस्थामा सर्वप्रथम नागरिकहरु नै आफ्नो र आफ्नाहरुको स्वास्थ्य सुरक्षामा सचेत हुनु आवश्यक छ । सरकारले लठ्ठी लगाएर मात्र स्वास्थ्य जोगिन सक्दैन भने सरकारले लागु गरेका स्वास्थ्य मापदण्डहरु हाम्रा लागि हुन् भन्ने कुरालाई बुझ्न जरुरी छ ।

अनावश्यक काममा पनि हिडडुल गर्नेदेखि विभिन्न पाटी तथा भोजहरुमा सामेल हुने र सभा सम्मेलनहरुले गर्दा पनि भाइरसको संक्रमणलाई फैलाउन मद्दत पुग्ने भएकाले त्यस्ता कार्यहरु गर्दा सचेत हुन आवश्यक छ । देशमा यति बेला राजनीतिक दलहरुका महाधिवेशनहरु चलिरहेका छन् । भरखरै मात्र ठूलो संख्यामा मानव शक्ति प्रदर्शन गरेर एमाले र राप्रपाले महाधिवेशन सम्पन्न गरेका छन् भने काँग्रेसको महाधिवेशन आजैबाटसुरु हुँदैछ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणको एउटा मात्र उपाय भनेको खोप लगाउनु र भीडभाड नगर्नु तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नु हो । खोप लगाउँदै भाइरसको संक्रमण नहुने भन्ने होइन त्यसैले भविष्यमा पछुताउनु भन्दा बेलैमा सचेत हुनु राम्रो होला कि ।