Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

एमाले सुर्खेतको अधिवेशन पुस २३ र २४ गते

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुर्खेतको जिल्ला अधिवेशनका लागि मिति तय गरिएको छ । एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन पुस २३ र २४ गते हुन लागेको हो ।

आठौं जिल्ला अधिवेशनका लागि सहभागी हुने प्रतिनिधी पुस १७ गतेभित्र वडाबाट छनोट गरिने छ ।

वडाबाट प्रतिनिधी छनोट गर्दा अन्य जाती तथा जनजाती क्षेत्रबाट ३० जना पार्टीका क्रियाशिल सदस्य बराबर १ जना प्रतिनिधी र दलित क्षेत्रबाट २० जना बराबर १ जना प्रतिनिधी छनोट हुने भएका छन् ।

सुर्खेत जिल्लामा ९९ वडा छन् । जसमा एमालेका १२ हजार दुई सय ८० जना पार्टीका क्रियाशिल सदस्य रहेका छन् ।

जिल्ला अधिवेशनले एक सय पाँच जना कार्यसमिति सदस्य चयन गर्ने पार्टीका अध्यक्ष ध्रुबकुमार शाहीले जानकारी दिए । उनका अनुसार जिल्ला अधिवेशनका लागि सर्वसहमतको प्रयासबाट प्रतिनिधी छनोटको प्रक्रिया सुरु गरिने छ । ‘प्रतिनिधी छनोट गर्दा सकेसम्म सर्वसहमतीको प्रयास गर्नेछौं’ अध्यक्ष शाहीले भने, ‘सर्वसहमति हुन नसकेका वडाहरुमा निर्वाचन गरेर भएपनि प्रतिनिधी छनोट हुनेछन् ।’

एमालेको जिल्ला अधिवेशन सम्पन्न गर्न समिति गठन गरिएको छ । पार्टीको जिल्ला कमिटि बैठकबाट आठवटा समिति गठन गरिएको हो ।

पार्टी अध्यक्ष समेत रहेका ध्रुबकुमार शाहीको नेतृत्वमा राजनीतिक तथा सांगठनीक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष अमृत बहादु विसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, घनश्याम पाण्डेको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन समिति र प्रचार–प्रसार समितिको संयोजकमा गंगाराम तिमिल्सेनाको जिम्मेवारी तोकिएको छ ।

यस्तै, हल तथा मञ्च व्यवस्थापन समिति संयोजकमा हरिहरनाथ योगी, खाना तथा खाजा व्यवस्थापन समिति संयोजकमा पूर्ण प्रसाद पौडेल, स्वयंसेवक परिचालन व्यवस्थापन समिति संयोजकमा चर्तुभुज शाही र अतिथि सत्कार समिति संयोजकमा सुशिला विकलाई जिम्मेवारी तोकिएको छ ।

सचिवालय सदस्य थपियो

नेकपा एमाले सुर्खेतले पार्टीको जिल्ला कमिटिको सचिवालयमा सदस्य थप गरेको छ । जिल्ला कमिटि सदस्य समेत रहेका डम्मर तिवारी, हरिहरनाथ योगी, गंगाराम तिमिल्सेना, ऋषी गिरी, खड्क भट्टराई, पूर्ण प्रसाद पौड्याल र यज्ञ ढकाललाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो ।

यसैगरी, टिकाराम सोमै, सुशिला विक, बलबहादुर नेपाली, तुलबहादुर सहकारी र जीतबहादुर सिंहलाई समेत जिल्ला कमिटिको सचिवालयमा थप गर्ने निर्णय गरेको प्रचार–प्रसार समिति संयोजक गंगाराम तिमिल्सेनाले जानकारी दिए ।