Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

माओवादीका प्रमुख सचेतक विष्टसहित १५० नेता कार्यकर्ता एमालेमा प्रवेश

माओवादीलाई कर्णालीमा ठूलो धक्का

सुर्खेत ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित १५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई आज एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको हो ।


माओवादी केन्द्र कर्णाली प्रदेशले उहाँलाई राजीनामा फिर्ता लिएर नियमति काममा फर्कन अनुरोध गरेपनि उहाँ एमालेमा जाने निश्चित जस्तै भएको थाहा पाएपछि मात्र नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको थियो । प्रमुख सचेतक रहेकै समयमा विष्टले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

माओवादी केन्द्रमा आफ्नै पार्टी भित्र आन्तरिक विरोध गर्न सक्ने क्षमता भएका नेता विष्ट एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र कर्णाली प्रदेशमा माओवादी केन्द्रलाई ठूलो धक्का लागेको छ । प्रचण्डको अन्याय सहन नसकेको, पार्टीले एमसिसिका पक्षमा मतदान गरेको जस्ता आरोपहरु नेता विष्टले लगाउँदै आउनु भएको थियो ।

गत प्रदेश निर्वाचनमा प्रत्यक्ष तर्फ निर्वाचित विष्ट आफ्नो निर्वाचन क्षेत्रमा राम्रै बाहुल्यता भएका नेतामा गनिनु हुन्छ ।