Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

विनेसामद्वारा साहित्यदूत, उत्कृष्ट शाखा तथा सक्रिय सदस्य घोषणा

भारत ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले हरेक तीन वर्षमा घोषणा गर्दै आएको साहित्यदूत सम्मान, उत्कृष्ट शाखा र सक्रिय सदस्य घोषणा गरेको छ । महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको अध्यक्षतामा बसेको विश्व केन्द्रीय समितिको नियमित बैठकले उक्त निर्णय गरेको हो ।

No description available.
विश्वको १० उच्च हिमालहरूमध्ये ८ नेपालमा छन् जसले विश्वमा नेपाललाई चिनाउने गर्दछन् । नेपाली भाषा–साहित्यको क्षेत्रमा त्यस्तै अमुल्य योगदान गर्नु हुने ८ जनालाई महासङ्घद्वारा तीन वर्षमा एकचोटी साहित्यदूत सम्मानले विभूषित गर्ने गरिएको छ । यस पटक विनेसाम साहित्यदूत सम्मान – २०२२ अन्तर्गत विनेसाम साहित्यदूत सम्मान सगरमाथा – पूर्व राजदूत श्री भीम उदाश, काठमाडौ, विनेसाम साहित्यदूत सम्मान कञ्चनजङ्घा – कुलपति प्रा. डा. गङ्गाप्रसाद प्रसाईं, त्रिपुरा विश्वविद्यालय, भारत विनेसाम साहित्यदूत सम्मान ल्होत्से – प्रा. डा. दिवाकर प्रधान, काशी हिन्दू विश्वविद्यालय, भारत विनेसाम साहित्यदूत सम्मान मकालु – सहप्राध्यापक डा. ज्ञानु अधिकारी, काठमाडौ विनेसाम साहित्यदूत सम्मान चोयु – श्री दीपा एवाई राई, हङकङ विनेसाम साहित्यदूत सम्मान धौलागिरी – तिलक पोख्रेल, म्यान्मार विनेसाम साहित्यदूत सम्मान मनास्लु – श्री कर्ण गुरुङ, अमेरिका र विनेसाम साहित्यदूत सम्मान अन्नपूर्ण – डा. मुलीवीर राई, बेलायत रहेका छन् ।

त्यसैगरी उत्कृष्ट शाखाकालागि विश्वको विभिन्न देशमा रहेका शाखाहरूबाट प्राप्त विवरणको आधारमा सबै शाखाहरूका गतिविधिलाई हेरेर विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ भने साहित्यिक सक्रियतालाई मध्यनजर गर्दै विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण बेलायत शाखाका सचिव अमित थेबेलाई सक्रिय सदस्य घोषणा गरिएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको संयोजकत्वमा उपाध्यक्ष डेन्जोम साम्पाङ र महासचिव सुनिता राई कन्दङ्वा रहेको तीन सदस्यीय छनौट समिति रहेको थियो ।

साथै महासङ्घको कार्यकाल सकिन लागेको हुनाले बैठकले अब बन्ने नयाँ समिति कस्तो बनाउने भन्ने सम्बन्धमा गृहकार्य गर्न वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको संयोजकत्वमा सल्लाहकार प्रा. डा. भीम खतिवडा, डा. मधु माधुर्य, उपाध्यक्ष डेन्जोम साम्पाङ, महासचिव सुनिता राई कन्दङ्वा र सचिव डा. मनमुर्ती भुर्तेल रहेको छ सदस्यीय परामर्श समिति गठन गरेको छ । आवश्यकता अनुसार समितिका सदस्यहरू संयोजकले थपघट गर्न सक्ने अधिकार समेत प्रत्यायोजन गरेको संस्थाका अध्यक्ष परदेशीले बताए ।

बैठकको अन्त्यमा, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका सदस्य तथा म्यान्मा शाखाका अध्यक्ष मोहनराज खनाल मातृशोकमा पर्नु भएको हुनाले महासङ्घको तर्फबाट आमाको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको थियो ।

बैठकमासल्लाहकार प्रा. डा. भीम खतिवडा, नेपाल, सल्लाहकार प्रा. डा. कविता लामा, सिक्किम, सल्लाहकार डा. मधु माधुर्य, अमेरिका, अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, भारत, वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्ले, ताइवान, उपाध्यक्ष डेन्जोम साम्पाङ, अमेरिका, महासचिव सुनिता राई कन्दङ्वा, इजरायल, सचिव डा. मनमुर्ती भुर्तेल, रसिय, कोषाध्यक्ष के बी पौडेल, काठमाडौ, सदस्य गोविन्द गौतम, रसिया, सदस्य डा. नाज सिंह, दिल्ली, सदस्य कल्पना पौडेल, नेपाल, सदस्य मोहनराज खनाल, म्यान्मा, सदस्य राहुल राई बोगिको, भारत, सदस्य अमित चाम्लिङ, कुवेतलगायतको उपस्थिति रहेको थियो ।