महानगरका मेयर बालेन्द्रलाई हिमा गाउँपालिका घुम्न निम्तो
सुर्खेत ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहलाई हिमा गाउँपालिका तथा शिजा क्षेत्रको भ्रमणका लागि निम्तो दिएका छन् । नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव समेत रहेका शाही काठमाडौं गएको मौका पारेर महानगरका नगरप्रमुख साहलाई उपप्रमुख सुनिता डंगोलसहितको टिमलाई नेपाली भाषाको उद्गमस्थल जुम्लाको शिजालगायत खस सभ्यताले भरिएको जुम्लाको भ्रमण गर्नका लागि निम्तो दिएका हुन् ।

अध्यक्ष शाहीले बालेन्द्रसँगको भेटमा भने, ‘नेपाली सभ्यताको ज्यूँदो इतिहास बोकेको जुम्ला हुँदै स्वर्गको परीको रुपमा चिनिने रारासम्मको भ्रमण गर्नका लागि काठमाडौं महानगरपालिकाको टिमलाई हार्दिक निमन्त्रणा गर्दछु ।’ अध्यक्ष र नगरप्रमुख तथा उपप्रमुख समेतको संयुक्त भेटघाटमा अध्यक्ष शाहीले भने, ‘कर्णाली आफैमा गरिब छैन तर गरिब बनाइएको छ । कर्णालीमा भएको प्राकृतिक स्रोत साधनको उपयोग गर्न सक्ने हो भने कर्णालीले समृद्धिको ढोका भेट्याउन समय लाग्ने छैन । तर त्यसका लागि प्रविधि र स्रोत साधनको कमी रहेकाले पनि कर्णालीले गरिबीकोे नारा लगाइरहेको छ । त्यसैले कर्णाली चिनाउनका लागि सबैको साथ र सहयोगको खाँचो छ ।’
उनको निम्तोलाई स्वीकार गर्दै समय अनुकूलता मिलाई रारालगायत शिजाको भ्रमण गर्ने बालेन्द्रको भनाई छ । काठमाडौंं मन्दिर नै मन्दिरको शहरको रुपमा चिनिए झैँ कर्णाली भन्ने वित्तिकै भौगोलिक विकटता भित्रको एकता भएको आफूले बुझेको र कर्णालीले पर्यटकीय क्षेत्रमा समेत फड्को मार्न सक्ने भएकाले दुई पक्षीय हितलाई सर्वोपरी ठानी सहयोग आदानप्रदान गर्न आवश्यक भएको नगर प्रमुख साहको भनाई थियो ।
कर्णाली आफैमा संस्कृति र सभ्यता, भाषा र साहित्यले भरिपूर्ण क्षेत्र भएकाले पनि कर्णालीवासीले त्यसको संरक्षण र सम्वद्र्धनमा जोड दिन आवश्यक भएको बताउँदै काठमाडौं महानगरपालिकाका नगर प्रमुख साहले भने, आज हामीले हाम्रो पहिचानलाई जोगाउन सकेनौ भने भोलीका सन्नतीले हामीलाई धिकार्ने भएकाले पनि हामीले आफ्नो कर्तव्य भूल्न हुँदैन ।






