पदभार ग्रहणको एक वर्षलाई हेर्दा…
सुर्खेत ।
हिमा पाउँपालिका वडा नं. १ का वडाअध्यक्ष रतनबहादुर शाही उमेरले धेरै पाका मानिँदैनन् तर कार्यक्ष्मताको हिसावले हेर्ने हो भने २०७९ सालमा भएको स्थानीय निर्वाचनमा उनले नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्ष निर्वाचित भए ।

वडाअध्यक्ष निर्वाचित भएपछि २०७९ साल ज्येष्ठ ९ गतेका दिन उनले पदभार ग्रहण गरेका थिए । आज उनको पदभार ग्रहण गरेको एक वर्ष पुगेको छ । एक वर्षको अवसरमा हामीले वडाअध्यक्ष शाहीले गरेका कार्यहरुको बारेमा अलि कति चर्चा गर्ने कोशिस गरेका छौं ।
निर्वाचनको समयमा उनले भेडीगोठमा पुगेर मत मागेको समाचारले चर्चा पाएको थियो भने निर्वाचित भइसकेपछि उनले तिनै भेडीगोठालाहरुलाई आवश्यक पर्ने जुत्ता, रेनकोट तथा टर्चलाइट लिएर उनको सहयोगको लागि पुनः भेडीगोठमै पुगे । जसले गर्दा भेडीगोठालाहरु समेत आफूले जिताएको वडाअध्यक्ष सहयोग गरेकोमा आफूहरुलाई सम्झेको खुसी व्यक्त गरे ।

यसैगरी पदभार ग्रहणकै दिनमा उनले आफूले पाएको मतसंख्या बराबरका विरुवाहरु रोप्ने घोषणा गरेका थिए त्यो घोषणालाई उनले २०७९ कै असारमा पूरा गरिसकेका छन् भने सामाजिक सुरक्षा भत्ता बुझ्न जानेहरुका लागि निःशुल्क यातायातको व्यवस्था वडा नं. १ ले गरेको छ ।
वडाकार्यालयबाट पाउने यातायातको साधन मोटरसाइकल नलिएर त्यो पैसालाई पनि जनताकै विकासका कार्यमा खर्च गरेका वडाअध्यक्ष शाहीले बालविवाहमा न्यूनिकरण ल्याउनका लागि २० वर्ष उमेर पुगेर मात्र विवाह गर्नुपर्छ भन्ने कानूनी व्यवस्थालाई बलियो बनाउने उद्देश्यका साथ २० वर्ष उमेर पुगेर विवाह गर्ने चेलीहरुलाई कोसेलीसहित वडाकार्यालयको तर्फबाट विदाई गर्ने व्यवस्थापन मिलाएका छन् ।

वडाभित्रका विपतमा परेका वडावासीलाई सक्दो राहतको व्यवस्था गर्नु वडाको दायित्व भएकाले त्यो कार्यमा कन्जुस्याँई गर्ने कुरै भएन वडा अध्यक्ष शाहीको भनाई छ । यसैगरी सामुदायिक विद्यालयहरुलाई विश्वसनीय र भरपर्दो बनाउँदै विद्यार्थीको शैक्षिक गुणतस्तरमा वृद्धि गर्नका लागि वडाको कालिका आविमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको छ भने प्रत्येक वर्षको एक महिनाको आफ्नोा पारिश्रमिक उक्त विद्यालयलाई सहयोग गर्ने योजना अनुसार उनले एक महिनाको पारिश्रमिक पनि विद्यालयलाई सहयोग गरेको छन् ।

निर्वाचनको समयमा आफूले जनता समक्ष गरेका बाचाहरुलाई पाँच वर्षमा पूरा गर्न सक्ने कुरामा आफू विश्वस्त रहेको शाहीले बताए ।







