Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

अरुणोदय – कविता

वासुदेव पाण्डेय ‘प्रभाकर’

गाढा निशा भै कमजोर, क्लान्त
छायो उज्यालो सब दिग्दिगन्त ।
पूर्वी दिशामा नव कान्ति छायो
मुस्कान छर्दै रवि रश्मि आयो ।।

देखे खुलेको जब सूर्यलाई
पन्छी रमाए तब गीत गाई ।
मान्छे बिछ्यौनासित प्रीत छाडी
छन् जोशिला बढ्न भनी अगाडि ।।

अल्छी हट्यो मानिस जाग्न थाले
क्यै काम गर्नेतिर लाग्न थाले ।
धर्ती उही सोच र कार्य नौला
लाग्छन् बिहानी रसिला, सुनौला ।।

आवाज निस्कीकन कण्ठबाट
भो आरती जाँगर जोशसाथ ।
निस्कन्छ बेग्लै ध्वनि घण्टबाट
गुन्जिन्छ झन् पावन शङ्खनाद ।।

मानिन्छ चोखो अति ‘ब्रह्मबेला’
मानी खटे हट्छ सबै झमेला ।
सन्तुष्ट मान्छे जब गर्छ भक्ति
देखेॅ उषामा अति उच्च शक्ति ।।

प्राणीहरूभित्र चुरीफुरी छ
कल्याणकारी नव माधुरी छ ।
खोल्छन् सधैॅ जीवनका मुहान
उत्साहले सिञ्चित यी बिहान ।।

▶इन्द्रवज्रा◀