Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

मोफसलमा पनि थुप्रै अवसर छन् : अधिकारी

सुर्खेत जिल्लाको तत्कालिन लेखफर्सा गाउँ विकास समिति वडा नं. १ मा माता जीतकुमारी र पिता यामनारायण अधिकारीको कनिष्ट पुत्रको रुपमा आज भन्दा २७ वर्ष अगाडि जन्मेका सुकदेव अधिकारी पछिल्लो समयमा सुर्खेतको लोक तथा दोहोरी गीतको क्षेत्रमा निकै चलेको नाम हो । एकातिर अध्ययन र अर्कोिितर गायनलाई संँगसँगै लिएर अगाडि बढिरहनु भएका अधिकारी आफैले लोक तथा दोहोरी गीतको संकलन तथा शब्द संयोजन समेत गर्नुहुन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेतको कार्य समितिको सदस्य पदमा समेत रहेर नेपाली लोक दोहोरीको क्षेत्रमा आफ्नो योगदान दिइरहनु भएका उदयमान गायक बुलबुले साधना कला केन्द्रको अध्यक्ष समेत हुनुहुन्छ । चौतर्फी रुपमा आफ्नो स्थान सुरक्षित गर्दै नेपाली गीत र संगीतको क्षेत्रमा अगाडि बढिरहनु भएका गायक सुकदेब अधिकारीसँग खगेन्द्र अधिकारीले गरेको भलाकुसारी:

तपाईं यो कलाकारिता क्षेत्रमा कसरी लाग्नुभयो ?
रेडियोमा बज्ने गीतहरुले मेरो मन चोर्ने गर्दथे । म प्रायः लोकगीतहरु नै सुन्ने गर्दथे । मलाई याद छ म स्कुल पढ्ने बेलामा घरमा पढ्न भनेर बसेको बेलामा सिरकमा लुकेर रेडियो सुनेको थाह पाए पछि यो पढ्दैन खाली गीतमा मात्र यसको ध्यान छ भनेर मैले गाली समेत खानु परेको थियो । अनि विद्यालयमा हुने कार्यक्रमहरुमा मेरो सहभागीता त रहने नै भयो त्यसमा पनि सांस्कृतिक कार्यक्रम भने पछि म जहिले पनि अघि बढ्ने गर्दथे । जसको कारण मलाई गुरुहरुले माया गर्नु हुन्थ्यो । म अहिले पनि सम्झन चाहन्छु ती गुरुहरु जसले आज मलाई सुर्खेतमा मात्र नभएर लोक गीतको क्षेत्रमा एउटा कलाकारको रुपमा उभिने उत्साह दिनु भयो । त्यसकै प्रतिफलले आज म सबैका अगाडि उभिएर गीत गाउने भएको छु जस्तो मलाई लाग्छ । चाहना र रुचि भयो भनेर र त्यसमा लगनशीलता र मेहेनत भयो भने मान्छे सफल हुन्छ जस्तो मलाई लाग्छ ।

त्यसो भए कसलाई मान्नुहुन्छ प्रेरणाको स्रोत ?
एउटा बच्चाको लागि घर भनेको पहिलो पाठशाला हो । घरमा बच्चाले के सिक्छ । त्यसको प्रभाव उसले जीवनभर बिर्सदैन । त्यसैले त भनिन्छ बच्चालाई घरमा राम्रो व्यवहारमा राख्न सक्यो भने ऊ विद्यालयमा समेत राम्रो व्यवहार प्रस्तुत गर्दछ । अनि विद्यालयमा राम्रो व्यवहार प्रस्तुत हुन सकेको खण्डमा उसले नराम्रो व्यवहारको बारेमा सोच्ने मौका समेत पाउँदैन । त्यसैले मेरो आमा बुबा नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । किनकी उहाँहरुले पढाइको साथसाथै मेरा अतिरिक्त क्रियाकलापहरुमा समेत चासो राख्ने भएकोले पनि मलाई पढाइ र गायन सँगसँगै लैजान मौका मिलेको हो । विद्यालयमा मेरो एक जना अत्यन्तै माया गर्ने गुरु हुनुहुन्थ्यो । उहाँ अहिले यो संसारमा त हुनुहुन्न । जीत बहादुर तारम । उहाँले रु पचास दिएर पहिलो पटक स्टेजमा गाउन पठाउनु भयो । त्यस दिनदेखि म स्टेजमा गाउने भए । उहाँले दिनु भएको त्यो पचास रुपियाँ मेरो कला क्षेत्रको पहिलो कमाइ हो भने मेरो प्रेरणाको दोस्रो स्रोतको रुपमा मैले उहाँलाई नै लिने गर्दछु किनकी मेरो आमाबुबा भन्दा पनि कला क्षेत्रको ज्ञान मेरो गुरुमा धेरै थियो । उहाँ आफै पनि कलाकार हुनुहुन्थ्यो ।

काठमाडौँको दाँजोमा सुर्खेत मोफसल अनि सुर्खेतको दाँजोमा दशरथपुर कसरी आइपुग्नु भयो गाउँदेखि शहरसम्म ।
पढाइको सिलसिलामा म सुर्खेतमा आए । कक्षा १२ सम्म मैले जीवन ज्योति उमावि दशरथपुरमा अध्ययन गरे । त्यतिबेलासम्म म गाउँमै हुने कार्यक्रमहरुमा गाउने गर्दथे । त्यतिबेला मलाई सुर्खेतमा खासै कसैले पनि चिन्दैनथे । मैले आफ्नो गलालाई मेरा स्रोताहरु माझ पस्कने मौका पाएको थिएन । जब स्नातक पढ्न सुर्खेत आए । पढाइ सकेर खाली भएको समयमा सुकदेवले पनि गीत गाउँछ भन्ने चेतन पुरीलाई थाह भएछ । आज एकदमै दुःखी छु म उहाँ दुर्घटनामा परेर दिवंगत भइसक्नु भएको छ । उहाँ ले मलाई भेटेपछि समावेशी टेलिभिजनबाट प्रशारण हुने खेलौ दोहोरी कार्यक्रमसम्म पु¥याउनु भयो । उक्त कार्यक्रम हेरेपछि सुर्खेतमा रहेका अग्रज कलाकार देखि दर्शक स्रोता सम्मले पनि मेरो कलालाई मन पराएपछि म अलि अलि बाहिर आएको जस्तो मलाई लाग्छ । तर स्व. चेतन पुरी कै कारण मैले सुर्खेतका अग्रज कलाकारहरुको संगत गर्न पाएँ । जसले गर्दा आज यो स्थान बनाउन सफल भएको छु ।

पछिल्लो चरणमा त गीतहरु त्यत्ति बिक्दैनन् । प्रविधिले पुरै फड्को मारिसकेको छ । जीवन धान्न गारो छैन कलाकार भएर ?
उठाउनै पर्ने प्रश्न उठाउनु भयो । कलाकारिता मात्र होइन धेरै क्षेत्रहरु यस्तो अवस्थामा पुगिसकेका छन् । हिजोका दिनमा कुनै कलाकारले राम्रो गीत पस्किन सकेको खण्डमा एउटा क्यासेटले नै उसलाई जीवनको एक भाग धान्न सहयोग गर्ने गर्दथ्यो । तर आज गीत रेकर्ड भयो भने त्यसको केही मिनेट पनि होइन सेकेण्डमा सबै भन्दा पहिलो य्रट्यूव र त्यसपछि सबैका मोवाइलमा पुग्छ । अनि कहाँबाट गीत बेचेर कलाकार बाँच्ने वातावरण हुनु । तर पनि यस्तो छ भन्दैमा निराश भइहाल्नु पर्ने अवस्था भने छैन । विज्ञान र प्रविधिको विकासक्रमले अप्ठ्यारो मात्र होइन सजिलो पनि बनाइदिएको छ । पहिले गीत रेकर्ड गर्ने बेलामा गाउँ गाउँबाट काठमाडाँैमा धाउनु पर्ने अवस्था थियो । आज सबै कुरा तयारी भइसकेपछि म्यूजिक समेत तयारी अवस्थामा हुन्छ अनि विहान काठमाडाँै पुग्यो भने दिउँसो रेकर्ड गरेर साँझ घर फर्किन गाडि चढ्न सकिने अवस्था छ । अलिकति चर्चित हुन सकेको खण्डमा दर्शक स्रोताको मन जित्न सकेको खण्डमा कलाकारहरु स्टेज प्रोगाममा समेत पुग्ने वातावरण छ । त्यसैले कलाकार त स्टेजमा हुने कार्यक्रमबाट केही राहतमा छन् तर सर्जक जसले गीतको रचना गर्दछ उनीहरु ओझेलमा परेका छन् । उनीहरुको गीत हो भन्ने बाहेक अरु केही छैन । सायद त्यसैले होला पछिल्लो समयमा सर्जकहरु मेरो गीत गाइदिनुहोस् भनेर दिनुको सट्टा हजुर यस्तो खालको गीत चाहिएको थियो भनेर कलाकार आफै गीत माग्न जानु पर्ने अवस्थाको सिर्जना भएको छ ।
गीत नै गाएर भविष्यमा कुन स्थानसम्म पुग्ने लक्ष्य छ यहाँको ?
मान्छेले केही बन्दैन कहि पुग्दैन भन्ने योजना बनायो भने त्यो कुँवाको भ्यागुतो सरह हुन्छ भन्ने लाग्छ मलाई । सायद त्यसैले भन्नुभएको होला महाकवि देवकोटाले ‘उद्देश्य के लिनु उडि छुनु चन्द्र एक’ । सबैले सोचेका उद्देश्यहरु पूरा नहुन पनि सक्छन् । तर उद्देश्य सबैका हुन्छन् । कलाको क्षेत्रमा एउटा राम्रो कलाकार बनेर नेपाल र नेपालीको पहिचान देश विदेशमा चिनाउन सकियो भने त्यत्ति बेला म मेरो उद्देश्य पुरा भएको सम्झिने छु । हेनुहोस् विश्व आज विज्ञानको कारण सानो भइसकेको छ । धेरै नेपालीहरु विश्वका कुना कुनामा पुगेका छन् । तपाइँले हेर्नुभयो भने नेपालीहरु पुगेका मुलुकहरुमा प्रत्येक वर्ष तीज, दशैं, तिहार, माघी, होली जस्ता पर्वहरुमा स्टेज कार्यक्रमहरु हुने गर्दछन् । ती कार्यक्रमहरुले नेपालको पहिचान झल्काएका हुन्छन् । त्यो भनेको हाम्रो संस्कृति , भाषा, परम्परा र सहनसहनलाई त्यहाँका मान्छेहरुले समेत हेर्ने मौका पाउँछन् । त्यसैले आफू संलग्न भएको क्षेत्रबाट साँच्चिकै नेपाली लोक संगीतलाई विदेशमा चिनाउन र नेपालमा संरक्षण र सम्बद्र्धन गर्न सकेको खण्डमा आफूलाई सफल भएको ठान्थे ।

एकातिर कलाकारिता अर्कोतिर पढाइ अनि संघसंस्था कसरी व्यवस्थापन मिलाउनु भएको छ ?
मनमा इच्छाशक्ति हुनुपर्छ । सबै भन्दा ठूलो कुरा हो इच्छाशक्ति भनेको । भोलिपखको परीक्षा हुन्छ आज रातभर गीत गाउनु पर्ने अवस्था हुन्छ । त्यसलाई व्यवस्थापन गर्न कम गारो छैन । गीत पनि गाउनु छ परीक्षा पनि दिनु छ । परीक्षा दिएर मात्रै सबै पुरा हुँदैन परीक्षा पास गर्नु पनि छ भने दर्शकलाई पूर्ण मनोरञ्जन पनि दिनु छ । हो कलाकार र विद्यार्थी दुबै भएर काम गर्दाको संघर्ष भनेको यही । त्यही कुरालाई व्यवस्थापन गर्न सक्नु ठूलो कुरा हो । म प्रायः खाली भएको समयमा पढाइलाई विशेष स्थान दिँदै पढाइमा मन नगएको बेलामा कलाकारितालाई स्थान दिने भएकोले खासै त्यस्तो अप्ठ्यारो परेको छैन र नपर्ला पनि । किनकी समयलाई व्यवस्थापन गर्न सकेको छु जस्तो लाग्छ ।

अहिलेसम्म कति वटा गीतहरु रेकर्डिङ्ग भएका छन् ? जस मध्ये तपाइँ आफैलाई सन्तुष्टि दिने गीत कुन हो ?
गीत रेकर्ड गराउनु मात्र ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । तर पनि यो क्षेत्र नै त्यस्तै हो । किनकी रेकर्ड गीतले गर्दा अलि फराकिलो बनाउँछ । मैले अहिलेसम्म एक दर्जन गीतमा स्वर दिएको छु । आफूले गरेको कर्म प्रति सन्तुष्ट हुन सक्नु पर्छ । म पनि मैले गाएका सबै गीतहरु प्रति सन्तुष्ट छु । कारण मेरा स्रोतहरुले जब मेरो स्वरमा गीत हुन्नुहुन्छ तब साँच्चिकै रचनात्मक सुझावहरु दिनुहुन्छ । जसले गर्दा म खुसी छु । तपाईले सन्तुष्टिको कुरा उठाउनु भयो भन्नैपर्ने हुन्छ । मैले गाएको तीजको गीत ‘ठूलो भो शिरफूल शिरमा जपेन, छिन् छिन् चुरा सानुको हातैमा नाचिदेउ घुमेर पाउजु बजेन’ बोलको गीतले मलाई सबै भन्दा सन्तुष्टि दिएको छ ।

जे होस् तीजकै गीतले हजुरको मन छोएको रहेछ । यसपालिको तीजमा कस्तो खालको गीत आउँला सुकदेबको ?
पछिल्लो समयमा तीजका गीतहरु तीजका गीत जस्ता रहेनन् । आमाबुबा, दिदीबहिनी, दाजुभाइ सँगै बसेर सुन्न नसकिने खालका गीतहरु आउन थाले तीजमा । अनि म्यूजिक भिडियोहरु सँगै बसेर हेर्न नसकिने खालका आउन थाले यो विकृति हो । तर मैले यस पाली ‘भदौरे झरी नौ ँखोली तरी जाउँला माइतैमा, साथीसँगी आमालाई भेट्न तीजैको साइतैमा’ बोलको गीत यसपालिको तीजमा दिदीबहिनीहरुले सुन्न पाउनु हुनेछ । यो साँच्चिकै सबैसँगै बसेर गाउन सुन्न मिल्ने गीत छ ।

तपाइँले विकृति र विसंंगतिका कुरा उठाउनु भयो पछिल्लो समयमा मार्केट उनीहरुकै छ नि है ।
कलाकारले आफू मात्र बाँच्ने होइन । कलाकारले त सांस्कृतिलाई पनि बचाउनु पर्छ । आफू मात्र बाँच्न र चर्चामा आउनका लागि जे गरे पनि हुने ? यस्तो पनि हुन्छ ? एक पटक हाम्रा अग्रजहरुलाई हेर्नुहोस् त । प्रेमदेव गिरीले संकलन गरेका लोकभाकाहरु, पुरनसिंह विष्टले संकलन गरेका गीतहरु, भीमबहादुर कार्कीले गाएका गीतहरु, प्रेमराजा महत र बम बहादुर कार्कीले गाएका गीतहरु अझैँ पनि ताजगी छन् । ती गीतहरुलाई कुनै पनि पुस्ताले बिर्सन सक्दैन । त्यसैले उहाँहरु आफू चर्चामा आउनका लागि भन्दा सांस्कृति बचाउनका लागि लाग्नु भएको छ । मैले उहाँहरुले गर्नुभएका कार्यहरुको अनुशरण गर्ने कोसिश गर्नेछु ।

तपाइँ त सुर्खेतमै दोहोरी साँझमै गीत गाउने कलाकार । मोफसलकै कलाकारितामा रमाउने कि अलि चर्चा बटुलेपछि काठमाडौँ हानिने योजना छ ?
मोसफलमा बसेर अलि अलि चर्चा बटुल्ने अनि आफूलाई स्थापित गर्ने स्थानलाई छोडेर अझ फराकिलो स्थान हेरेर काठमाडाँे छिर्ने पुरानै चलन हो । सायद त्यसैले यो प्रश्न उठेको पनि हुनसक्छ । मैले अघि पनि भने केही अग्रज कलाकारहरुको नाम । एक पटक हेरौँ उहाँहरुलाई । अन्तर्राराष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन सफल अग्रज कलाकार प्रेमदेव गिरी । अनि म अलिकति ठूलो मञ्चमा गाउनका लागि काठमाडौँ किन धाउनै पर्छ भन्ने के छ ? हो म सुर्खेतमै दोहोरी साँझमा आफ्नो कला र गलालाई पस्किरहेको छु । सुर्खेत र यसको आसपासमा रहेका धेरै स्रोताहरुले मलाई माया गरिदिनु भएको छ । मसँगै दुई चार जना समकालिन र अनुज कलाकारहरु पनि हुनुहुन्छ । केही कुरा सिक्दै र केही सिकाउँदै अगाडि बढ्ने मौका पाइएको छ । त्यसैले अवसरकै लागि राजधानी धाउनु पर्छ जस्तो मलाई लाग्दैन ।

यो क्षेत्रमा आउन चाहना राख्ने नव आगन्तुकहरूलाई तपाइँको सुझाव ?
जसले यो क्षेत्रमा आउने योजना बनाउनु भएको छ । सबै भन्दा पहिले यो क्षेत्र के हो भन्ने बुझन् आवश्यक छ । किनकी कुनै पनि क्षेत्रमा लाग्दा त्यो क्षेत्रको बारेमा जानकारी नभएमा भविष्यमा सोचेको जति प्रगति गर्न सकिदैन । अरुले गरेको कामलाई देखेर देखासिकी गरेर आउने हो भने यो क्षेत्रमा सफलता त के संघर्ष समेत गर्न सकिदैन । अर्को कुरा साधनाको खाँचो छ । कलाकारिता क्षेत्रमा लाग्नका लागि साधना गर्नु पर्छ । साधनाको कमी, ज्ञानको कमी र गुरुको अभावमा यो क्षेत्रमा टिक्न सकिदैन । समाजलाई चिनाउनका लागि, गीत संगीतको क्षेत्रमा सेवा गर्नका लागि यो क्षेत्रमा आउनुहोस् । अनि मात्र सफलता हात लाग्न सक्छ ।

अन्तमा, के भन्नुहुन्छ ?
समय र परिस्थिति अनुसार चल्न सक्नु पर्छ । समाजमा पाच्य हुन लायकको कला प्रस्तुती दिनु पर्छ भन्ने मलाई लाग्छ । हामीले समाजलाई दिएको गीत सुनेर समाजमा सकारात्मक सन्देशको प्रवाह हुनु पर्छ । ओझेलमा परेका हाम्रा संस्कृतिको जगेर्ना गर्नका लागि युवाहरु जागरुक हुनु पर्छ । अनि मात्र यो क्षेत्रलाई सबै तह र तप्काबाट माथि उठाउन सकिन्छ जस्तो मलाई लाग्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेत, सुर्खेत दोहोरी साँझ, काँक्रेविहार दोहोरी साँझ, बागिना समूह लगायत बुलबुले साधना कला केन्द्रले यो क्षेत्रको लागि जुन योगदान दिएका छन् त्यसलाई म ह्दयदेखि आभार प्रकट गर्न चाहन्छु । स्रोता र दर्शक सबै भन्दा ठूला छन् । त्यसैले सम्पूर्ण दर्शक तथा स्रोताहरुले मेरो स्वर मन पराइदिनु भएकोमा माया गरिदिनु भएकोमा हार्दिक धन्यवाद ।

साभार : काँक्रेविहार दैनिक