Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कविता – वासुदेव पाण्डेय ‘प्रभाकर’

चैतन्य

इन्द्रेनी किन हाँस्छ रोदन हुँदा आकाशको व्यर्थमा
जोड्ने माध्यम भो धरा गगन खै के पाउने शर्तमा ?
यो संसार सफा,पवित्र छ निकै तृष्णा छ यो बाधक
घोडा चढ्दछ,लड्छ,उठ्छ दुनियाँ हाँस्छन् बनी दर्शक ।।

छाडा इन्द्रिय शत्रु हुन् तर यिनै बाँध्यो भने मित्र हुन्
धर्ती यो नव रङ्गमञ्चसरि हो मान्छेहरू चित्र हुन् ।
छन् बाधा सब मार्गमा असजिला पन्छ्याउने काम हो
आत्मा सर्दछ,देह मर्दछ,सधैॅ चल्ने यहाँ नाम हो ।।

मान्छे सक्छ र थुन्न के समय यो बाँधेर हाते घडी ?
सोझो, शिष्ट,विनम्र मानिस भए हेपिन्छ ऐले बढी ।
औॅला बाङ्गिनु पर्छ रे न त कहाँ तानिन्छ होला घिउ
चाँडो लाग्दछ ठेस घाउ छ भने संयोग के सम्झियूँ ।।

पानीले सब निभ्न सक्छ वनमा लाग्यो डढेलो भने
आगो निभ्छ र आँसुले हृदयको बोलेर घाउ बने ?
बोल्दा ख्याल गरौॅ कतै वचनको गोली नलागोस् गई
सन्चो घाउ शरीरको,वचनको बल्झिन्छ आलो भई ।।

मान्छे दिग्भ्रम ठान्छ विश्व अहिले एकान्त खोज्दै छ ऊ
एक्लो, निर्जन,शान्त यो प्रकृतिको सामीप्य रोज्दै छ ऊ ।
मर्दा मानिस कामले अमर छन् यो देह हो नश्वर
सारा वस्तु छ नासिने,बदलिने छाडेर यो ईश्वर ।।

▶शार्दूलविक्रीडित◀