माघको तेश्रो साता पोखरामा राष्ट्रिय भलिवल प्रतियोगिता हुने
पोखरा । पर्यटकीय नगरी पोखरामा माघको तेश्रो साताबाट महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना, कास्की जिल्ला खेलकुद विकास समितिको ब्यबस्थापन र सृजना विकास केन्द्रको मुख्य प्रायोजनमा माघको १८ गतेदेखी २२ गतेसम्म महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नेपाल भलिवल संघको स्विकृतिमा आयोजनामा हुने प्रतियोगितामा पश्चिमाञ्चल भलिवल संघ र जिल्ला भलिवल संघ कास्की सहयोगीको रुपमा रहेको छ ।
प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एफिएफ क्लव, न्यू डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस् क्लव र आयोजकको तर्फबाट पश्चिमाञ्चल भलिवल संघले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
लिगकम नकआउटको आधारमा हुने खेल पोखरा रंगशालामा हुनेछ । रंगशालाभित्र निर्माण भईरहेको भलिवल टे«निङ सेन्टरमा अस्थायी भलिवल कोर्ट निर्माण गरी रबर म्याट राखेर खेल खेलाईने पौडेलले बताए ।










