कर्फ्युका बीच मत्स्येन्द्रनाथको क्षमा पूजा, भोटोजात्रा नगरिने
काठमाडौं ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ ।

बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।
भोटो देखाउने जात्रा नहुने
मत्स्येन्द्रनाथको रथलाई जाउलाखेल पुर्याएको चौथो दिन जाउलाखेलमा भोटो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा गर्ने परम्परा छ । तर यो वर्ष छोटो प्रक्रियाबाट रथलाई बुङ्गमती पुर्याउने भनिएसँगै बीचका सबै प्रक्रियाहरू स्थगित भएको थपलियाले जानकारी दिए ।
‘भोटो नदेखाउने भन्ने कुनै निर्णय भएको होइन । तर रथयात्राको बीचका प्रक्रिया नगरी सिधै बुङ्मती लैजाने भनिएपछि भोटो देखाउने जात्रा पनि स्वतः स्थगित भइहाल्यो’ उनले भने ।
परम्पराअनुसार पहिलो दिन पुल्चोकबाट गाःबहाल पुर्याएर गुरुपूजा, दोस्रो दिन गाःबहालबाट मंगलबजार पुर्याएर दरबार पूजा, तेस्रो दिन मंगलबजारबाट सुन्धारा पुर्याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्याएर उपयुक्त दिनमा महाबली दिने गरिन्छ । त्यसपछि फेरि अर्काे दिन शुभ मुहूर्त हेरेर रथलाई जाउलाखेल पुर्याउने गरिन्छ ।
जाउलाखेलमा पु¥याएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेपनि यो वर्ष बीचका सबै कार्यक्रमहरू स्थगित गरिएको थपलियाले बताए ।









