Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

एसियन पारामा पलेशासहित ४ खेलाडीले भाग लिने

काठमाडौं  ।

बहराइनमा आयोजना हुन लागेको एसियन युथ पारा गेम्समा नेपालबाट दुई खेलका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन युथ पारा गेम्समा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।

पारा तेक्वान्दो एसियन युथ पारा गेम्समा पहिलोपटक समावेश गरिएको विधा हो । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टनका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पारा तेक्वोन्दोबाट पलेशा गोवद्र्धन श्रेष्ठ, सिर्जना घिसिङ र विशाल गर्वुजा तथा पारा ब्याडमिन्टनबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियन युथ पारा गेम्स २ देखि ८ डिसेम्वरसम्म बहराइनको मानामा शहरमा आयोजना हुदैछ । बहराइन जाने ४ खेलाडीसहित ६ सदस्यीय टोलीलाई शुक्रबार युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष नन्द कुमार राईलगायतले बिदाई गरे । पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । प्रशिक्षक लामा लेभल टु अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् ।

टोली नेताको रुपमा नन्दा बस्याल रहेकी छन् । प्रशिक्षक लामासहित सिर्जना र विशाल गर्वुजा आज (शुक्रबार) साँझ तथा टोली नेता नन्दा बस्याल, पलेशा र प्रकाश शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछन् ।

पलेशाले के ४४ को ५७ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । सिर्जनाले के ४४ को ५२ केजीमुनि तथा विशालले के ४४ को ५८ केजीमुनि खेल्नेछन् । ब्याडमिन्टनका प्रकाशले एसएल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

सिर्जना र विशालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन् । पलेशाले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितासँगै यसै वर्ष जापानको टोकियोमा सम्पन्न पारालिम्पिकमा प्रतिनिधित्व गरिसकेकी छिन् । पलेशा पारालिम्पिकमा पदकबाट थोरैले चुकेकी थिइन् ।

सिर्जना र विशालले पनि पारालिम्पिकमा खेल्ने प्रयास गरेपनि खेल्ने अवसर पाएका थिएनन् । त्यसपछि दुवै जनाले पलेशालाई ओलम्पिक प्रशिक्षणमा सहयोग गरेका थिए । प्रशिक्षक लामाले एक साताको तयारी भएपनि खेलाडीले मिहेनत गरेका कारण पदकको आशा गरिएको बताए ।