Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

तिम्रो कुर्ता च्यातिएको त्यो दिन – संस्मरण

विहान घरको काम गरी दिउँसो एक भारी घाँस ल्याउन पाएको भए त थकाइ मरुञ्जेल आराम गर्ने थिएँ रमाले मनमनै योजना बनाइरहेकी थिइन । सायद यस्तो योजना बनाएकी होलिन् पल्लाघरे काइली र कान्छा ससुराकी छोरी मैयाँ नानीले पनि । मान्छेको जीवन आज कहाँ छ भोलि कहाँ पुग्छ । सायद कसैले जानेकै हुँदैन । कान्छा ससुराकी छोरी मैयाँ नानी कसैको आँखामा राखेपनि नबिझाउने मान्छे हुन । निकै सरल स्वभावकी भएकीले गर्दा होला सबैले उनलाई मायालु भावमा हेर्ने गर्दछन् । अहिलेसम्म उनको बानी व्यवहारको कुरा काट्ने मान्छे पाइएकै छैन ।

घरको काम गर्नमा निकै खप्पिस काइली भने मनमा लागेको कुरा प्याच्च बोलि दिने भएकोले उसको मन सफा छ । सबैले उदाहरणको रुपमा काइलीको कुरा गर्ने गर्दछन् । कसै माथि पाप नचिताउने भएकोले गर्दा होला काइलीलाई अहिलेसम्म कपालका जुम्राले पनि टोकेको छैन होला । मैयाँ नानी, काइली र रमा खुबै मिल्छन् । एक अर्काको दुःख साटासाट गर्दछन् । अनि सहयोगको पनि पैचो चल्छ उनीहरुमा । मान्छेलाई समाजको आवश्यकता सायद त्यही भएर पर्छ । दुःख सुखमा साथ दिने नै समाज हो । आफूले पनि समाजको लागि केही गर्न सक्यो भने समाजले पनि आफ्नो लागि केही गर्छ ।

एउटै गाउँमा भएका दिदीबहिनीहरु अझ नन्द भाउजुहरु कति झगडा गर्दछन् । कति वैमनश्यता हुन्छ । तर अहिलेसम्म काइली, रमा र मैयाँ नानी बीचमा कहिल्यै त्यस्तो भएको छैन । त्यसैले पनि उनीहरु विचको मित्रतामा गाउँका कुरौटेहरुले कुरा गर्ने अवसर पाएका छन् ।
आकाशमा कालो बादल मडारिरहेको थियो । लेकका टुप्पा कुहिरो भित्र लुकिसकेका थिए । वन पाखा हरिया भएर रमाइरहेका थिए । आकाशको कालो बादलले पानी मात्र झार्ने हो वा सेता दाना नै झार्ने हो भन्ने दुविधा थियो मान्छेको मनमा । असारको महिना भएकोले प्रायः मानिसहरु काममै व्यस्त देखिन्थे । शहरको भन्दा गाउँको जीवन फरक हुन्छ । गाउँका मान्छेहरु निकै काममा व्यस्त हुने गर्दछन् असारको महिनामा । त्यही भएर होला मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा चिनिन्छ असारलाई ।

गोठमा गाईगोरु निकै जोडले कराइरहेका छन् । भोकाएका छन् क्यारे । हिजोदेखि पेट भरी खान दिन सकिएको छैन गाईगोरुलाई । भरखरै हिजो रोपाइँ भ्याएकोले गर्दा मन अलि अलि हल्का भएपनि थकान भने मेटिएको छैन । फेरि सधैँ भरी गरिरहनु पर्ने पशु चौपायाको धन्दा त छँदैछ रमालाई । साथमा साना केटाकेटी छन् । श्रीमान् लाहुरे भएकाले प्रायः असारमा एक्लै दुःख गर्नुपर्छ रमाले । त्यसैले पनि कहिले काँही त निकै दिक्क लागेर आउँछ उनलाई । साथमा भएका साना केटाकेटीले के नै सहयोग गर्थे र । तर पनि अरुको छोराछोरी जस्ता छैनन् रमाका छोरीछोरी । उमेरले भरखरै १२ टेकेको भएपनि रमाको छोराले काँचोको पाको बनाएर त खुवाउन सकेको छ । त्यसैमा पनि रमाको मन निकै खुसी छ ।

रमा र काइलीको सल्लाह अनुसार आज अलि टाढा गएर भएपनि ठूलै भारी घाँस ल्याउने योजना छ । मैयाँ नानीलाई भने घरको खासै काम गर्न कर छैन । किनकी उनी छोरी हुन् । फेरि उनको घरमा काम गर्ने मान्छेको पनि खाँचो छैन ।

विहानको खाना खाइसकेपछि काइली रमाको घरमा पुग्छिन् । ए रमा जानेबेला भएन भन्या । काइली भन्दा रमा एक वर्षले जेठी छन् । नाता दिदी बहिनी भएपनि उनीहरुमा खासै औपचारिक नाताको आवश्यकता समेत छैन । सायद त्यो मन मिलेकोले गर्दा पनि होला । दुबैले तँ तँ र म म भनेर बोलाउँछन् एक अर्कालाई । जाने बेला हुन थाल्यो । तँ आइपुगिस् ? रमाले आफ्नो काम गरिरहेकी छिन् । एकै छिनमा नाम्लो तयार पारी रमा अगाडि र काइली पछाडि हिड्छन् वनतिर । वन जाँदा कान्छा ससुराको घरकै बाटो भएर जानु पर्ने भएकोले रमाका आँखाले मैयाँ नानीलाई खोजिरहेका हुन्छन् । म पनि जाने हो घाँस काट्न कि साथै लैजाने मन छैन र हो ? मैयाँ नानीले प्रश्न ते¥र्साएपछि जाउँ न जाउँ भन्दै हातको इशाराले समेत बोलाउन पछि पर्दिनन् रमा । मैयाँ नानी समेत ३ जना भएर वनमा घाँस लिनको लागि उक्लिन्छन् उकालो ।
अप्ठ्यारोमा नजानु है । चिप्लो होला ख्याल गर्नु । यो काइली त झन घाँस भने पछि हुरुक्कै हुन्छे । ए रमा ख्याल गर है । मैयाँ नानीकी आमा घरको डिलमै बसेर उनीहरु तिरै हेरेर कराउँछिन् । हुन्छ हुन्छ । छोटो जवाफ दिँदै हिडिरहन्छन् उनीहरु ।

गाउँ छिचोलेर जब उनीहरु रामीडाँडामा पुग्छन् । त्यहाँ अरुहरुसँग पनि भेट हुन्छ । वनमा घाँस दाउरा लिन जानुहोस् कि गाई बाख्रा चराउन जाँदा होस् । सबै साथिहरु भेट भएपछि रमाइलो त निकै हुने गर्दछ । रामीडाँडामा बसिरहेका कमल , बले, अमृते, बहिदार्नी, फूलमति, सुनमाया र गंगा एक आपसमा कुरा गर्दै हाँसिरहेका थिए । उनीहरुको हाँसोको जर्गन सहन नसकेरै होला विहानै देखि मडारिरहेको आकाशले एक्कासी ठूल्ठूला पानीका थोपा धर्र्तिमा फालेपछि एक छिन् ओत लाग्नका लागि नजिकैको ओडारमा बस्न पुग्छन् सबै जना ।
नातामा देउरानी –जेठानी, नन्द–भाउजु – देवर, दाजु – बहिनी भएपनि उनीहरु सबै साथी जस्ता छन् । अमृते र कमले त मान्छेलाई हसाँउनकै लागि जम्नेका हुन् जस्ता छन् । कति सानो नाटक गर्न पनि सकेका उनीहरुले । मैयाँ नानीले घरबाट निकै राम्रा फूला उठेका मकै लगेकी रहिछन् । रमाले मैयाँ नानीको पटुकी भित्रको पोको छामिदिँदा मैयाँ नानी तर्सेर झन्नै सातो गएन । खुबै रमाएर हाँसे उनीहरु । अनि दिउँसो भोक लागेको बेलामा खान भनेर लगेको मकै निकाली मैयाँ नानीले र थाले सबैले खान ।

एक माना मकै ७÷८ जनालाई एक एक मुठी भाग परेको । आफ्नो भागको मकै खाइसकेपछि अमृते अरुको भागको पनि खोसी खोसी खाना बानी परेको । अमृतेले छिटो छिटो आफ्नो भागको मकै खाइसकेपछि रमाको हातमा भएको मकै खोस्न खोज्यो । रमा पनि त्यति धेरै छुच्चि त होइनन् तर आफ्नो भागमा परेको मात्र खानु नि भन्दै भाग्न खाेिज्छन् । आकाशबाट ठूलै पानी परिरहेको छ । एक छिन भएपनि पानीबाट छेलिनका लागि ओडारमा बसिरहेका छन् उनीहरु । पानीका बाछिटाहरुले ओडारको भित्रसम्म पनि आइपुगेका छन् । ओडारको भूँई पनि पुरै ओसिलो छ । त्यसैले अलि अलि चिप्लो पनि छ । अमृतेले खाजा खोसिदिन लागेकोले भाग्छु र खाजा बचाउँछु भन्ने क्रममा अचानक चिप्लिन पुग्छिन रमा । ठाउँ अप्ठ्यारो छ । खाजा कहिले काँही ठट्ठा गर्दा पनि साँचि झैँ जस्तै पर्न जान्छ । रमा चिप्लिएपछि उनलाई बचाउनका लागि अमृतेले समात्न खोज्छ तर हातमा समात्न नभ्याउँदै रमा त ओडारको डिलबाट नै खस्ने सम्भावना भएकोले हत्तपत्त उसले रमाको कुर्तामा समाउँछ । ध्वार्रर कुर्ता च्यातिन्छ । तर उनी रमा लड्नबाट बच्छिन् । त्यसपछि अमृतेले आफूले ठट्ठा गरेकोमा ज्यादै नरमाइलो लाग्छ । मकै पनि खाएको नखाए जस्तै हुन्छ । अहिलेसम्म पनि अमृतेको मन शान्त हुन सकेको छैन । रमाको मनमा भने त्यस्तो नराम्रो नभएपनि दिनभर सल कम्मरमा बेरेर घाँस काट्नु परेमा नरमाइलो लाग्यो रमालाई । आज पनि अमृतेले रमालाई देख्यो कि कुर्ता च्यातिएको कुरा गरेर हसाइहाल्छ क्या रे । तर रमा भने लाजले भुतुक्क हुने गर्दछिन् ।